३३ किलो सुन काण्डसँग जोडिएकी नितिमा भण्डारी कार्की रास्वपाबाट उम्मेदवार बनेपछि सर्लाहीमा खैलाबैला

काठमाडौं, १४ फागुन । ‘सुशासन’ र ‘नयाँ राजनीति’को नारा अघि सार्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट नितिमा भण्डारी कार्कीलाई उम्मेदवार बनाएपछि राजनीतिक वृत्तमा बहस चर्किएको छ ।विवादित साढे ३३ किलो सुन तस्करी प्रकरणसँग नाम जोडिएका व्यवसायी चेतन भण्डारीकी श्रीमतीलाई उम्मेदवार बनाइएको विषयले पार्टीभित्रै तरंग उत्पन्न गरेको स्रोतहरूले बताएका छन् ।

नितिमा भण्डारी कार्की ‘बाजेको सेकुवा’ रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारीकी पत्नी हुनुहुन्छ। चेतन भण्डारीको नाम २०७५ सालमा सार्वजनिक भएको चर्चित ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको थियो । उक्त प्रकरणका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करी गरेको अभियोगमा भण्डारीविरुद्ध मोरङ जिल्ला अदालत मा मुद्दा दायर गरिएको थियो । मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट भित्रिएको साढे ३३ किलो सुन गायब भएको तथ्य सार्वजनिक भएको थियो । सुन हराएपछि भरिया भनिएका शाक्यलाई यातना दिँदा हत्या भएको घटनाले देशव्यापी आक्रोश उत्पन्न गरेको थियो । त्यसपछि सरकारले १५ वैशाख २०७५ मा ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो । उपलब्ध विवरणअनुसार चेतन भण्डारीविरुद्ध मुद्दा दायर भएपछि उनी फरार रहेको भन्दै अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । करिब दुई वर्षपछि उनी स्वयं अदालतमा उपस्थित हुुनुभएको थियो । अदालतमा हाजिर भएपछि उहाँले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा पाउनुभएको छ । अन्तिम फैसलाअनुसार उहाँ उक्त मुद्दामा सफाइ पाएको जनाइएको छ । यद्यपि सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीहरू भने सम्बन्धित निकायमा छानबिनकै क्रममा रहेको बताइएको छ ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलका अनुसार फरार प्रतिवादीहरूको म्याद तामेली गर्न २० महिनाभन्दा बढी समय लागेको थियो । १८ जना फरार अभियुक्तको ठेगाना नखुलेपछि गोरखापत्रमा ३५ दिने सूचना प्रकाशित गरिएको थियो । अदालतले बाटोको म्यादसहित ६५ दिनभित्र उपस्थित नभए मुद्दाको प्रक्रिया अघि बढाउने जनाएको थियो । केही प्रतिवादीहरू पछि अदालतमा हाजिर भई धरौटीमा छुटिसकेका थिए । प्रहरी अनुसन्धानका क्रममा चेतन भण्डारी र ‘गोरे’ व्यावसायिक साझेदार रहेको खुलासा भएको थियो । सुन काण्ड सार्वजनिक भएपछि भण्डारी अमेरिका गएको र पछि नेपाल फर्केर अदालतमा उपस्थित भएको विवरण सार्वजनिक अभिलेखमा उल्लेख छ । यही पृष्ठभूमिमा उनकी श्रीमती नितिमा भण्डारी कार्कीलाई रास्वपाले उम्मेदवार बनाएको विषयले राजनीतिक तथा सामाजिक वृत्तमा प्रश्नहरू उठाएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार  ०८ : ४१  बजे