निषेधाज्ञा र कर्फ्युबाट मतदातामा त्रास सिर्जना गरिएको एमालेको आरोप

काठमाडौं, १२ फागुन । नेकपा एमाले ले निर्वाचन नजिकिँदै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा र कर्फ्यु जारी गरेर मतदातामा त्रास सिर्जना गर्न खोजिएको आरोप लगाएको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमालेका आम निर्वाचन प्रेस संयोजक मीनबहादुर शाहीले तराई–मधेशका केही जिल्लामा जारी निषेधाज्ञा र कर्फ्युका कारण मतदाताको भयरहित वातावरणमा मतदान गर्ने संवैधानिक अधिकार प्रभावित हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले शान्ति सुरक्षाको नाममा लगाइने निषेधाज्ञा र कर्फ्युले क्षणिक रूपमा नियन्त्रणको सन्देश दिए पनि दीर्घकालीन रूपमा मतदाताको मनोविज्ञानमा डर र अन्योल सिर्जना गर्ने ठहर गर्नुभयो । भयरहित, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सरकारलाई प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

निर्वाचन सार्न सकिने भन्ने हल्लाप्रति पनि एमालेले ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि बहानामा निर्वाचन नसारी तोकिएकै मितिमा सम्पन्न गर्नुपर्नेमा पार्टीको दृढ अडान रहेको शाहीले स्पष्ट पार्नुभयो ।

त्यस्तै, मत सर्वेक्षणका नाममा सार्वजनिक गरिएका एकपक्षीय तथ्याङ्कले मतदाताको मनोविज्ञान प्रभावित पार्न सक्ने भन्दै एमालेले आपत्ति जनाएको छ । यस्ता गतिविधि रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको जानकारी पनि उहाँले दिनुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अनर्गल दुष्प्रचार तथा कृत्रिम सामग्री प्रसार भइरहेका घटनाले सामाजिक सद्भाव र राजनीतिक वातावरणमा नकारात्मक असर पार्ने खतरा रहेको एमालेको निष्कर्ष छ । पार्टीले सबै राजनीतिक दल तथा सरोकारवाला पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  १८ : १८  बजे