राष्ट्रिय प्राथमिकताअनुसार काम गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं,१२  फागुन  । प्रधानमन्त्री सुशील कार्कीले गैरसरकारी संघ–संस्थाहरूले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यकताअनुसार स्रोत–साधन परिचालन गर्नुपर्ने बताउनुभएको छ।

मंगलबार समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष भएको उल्लेख गर्नुभयो।

उहाँले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, समावेशीकरण, गरिबी निवारण, सामुदायिक विकास तथा वातावरण संरक्षणजस्ता क्षेत्रमा गैरसरकारी संस्थाहरूले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो। विशेषगरी विपद्को समयमा राहत, उद्धार र पुनर्स्थापनामा खेलेको भूमिका प्रशंसनीय रहेको उहाँको भनाइ थियो।

“राज्यको नीति अंगीकार गरी सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष हो,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखी कार्यक्रम तथा स्वयंसेवी भावनालाई आत्मसात् गर्दै अघि बढे गैरसरकारी संस्थाहरूको सान्दर्भिकता अझ सुदृढ हुनेछ।”

उहाँले समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रको कामलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  १८ : ०९  बजे