सरकार गठनमा नेकपाको निर्णायक भूमिका रहने प्रचण्डको दाबी

काठमाडौं, १२ फागुन । पुष्पकमल दाहाल प्रचण्ड ले आगामी निर्वाचनपछि बन्ने सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को भूमिका अत्यन्त महत्त्वपूर्ण हुने दाबी गर्नुभएको छ।

मंगलबार पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेको उल्लेख गर्नुभयो। एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले निर्वाचनपछि सरकार गठन प्रक्रियामा नेकपा निर्णायक शक्तिका रूपमा उभिने बताउनुभयो।

उहाँले निर्वाचन आउन केही दिन मात्र बाँकी रहेकाले सबै नेता–कार्यकर्ताले थप मेहनत गरे नेकपा देशकै पहिलो शक्ति बन्न सक्ने धारणा राख्नुभयो। नेकपा गठनपछि वाम ध्रुवीकरणको नयाँ माहोल बनेको उल्लेख गर्दै उहाँले पुनः सबै वामपन्थी शक्तिहरू एक ठाउँमा उभिने विश्वास व्यक्त गर्नुभयो।

केपी शर्मा ओली को कार्यशैलीप्रति एमालेभित्रै असन्तुष्टि रहेको जिकिर गर्दै प्रचण्डले एमालेका नेता–कार्यकर्ताले समेत एकताको झण्डा उठाउन सहयोग गर्ने दाबी गर्नुभयो।

देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्ट शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले आगामी दिनमा वैचारिक र सांगठनिक एकता सुदृढ गरिने बताउनुभयो।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  १८ : ०५  बजे