सिंहदरबार आगजनी आरोपमा पक्राउ परेका गौतमविरुद्ध मुद्दा नचल्ने निर्णय

काठमाडौं, फागुन १२ । २४ भदौमा भएको प्रदर्शनका क्रममा सिंहदरबार मा आगजनी गरेको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय भएको छ।

जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौं ले गौतमविरुद्ध मुद्दा दायर गर्ने पर्याप्त आधार र कारण नदेखिएको निष्कर्ष निकाल्दै मुद्दा नचलाउने निर्णय गरेको हो। उक्त निर्णय सदरका लागि उच्च सरकारी वकील कार्यालय पाटन मा पठाइएको जनाएको छ।

गौतमलाई २२ माघमा पक्राउ गरिएको थियो। सामाजिक सञ्जालमा सिंहदरबारमा आगजनी गरेको दाबी गर्दै भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। घटनापछि करिब पाँच महिनापछि उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउपछि जिल्ला अदालत काठमाडौं बाट म्याद थप गरी थुनामा राखेर अनुसन्धान गरिएको थियो। प्रहरी परिसर काठमाडौंले भिडियोको आधारमा उनलाई पक्राउ गरेको जनाएको थियो।

उच्च सरकारी वकील कार्यालय पाटनका प्रमुख ईश्वरीप्रसाद ढकालले जिल्ला सरकारी वकील कार्यालयबाट प्राप्त फाइल अध्ययनको क्रममा रहेको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  १२ : १८  बजे