वीरगञ्जमा कर्फ्यू हट्यो, भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा

सर्लाही, ११ फागुन ।  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ ।प्रशासनले अहिले बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गर्नुभएको आदेशमा उल्लेख छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय पर्सामा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति, सद्भाव र संयमता अपनाउने निर्णय गरेको छ ।गाडी पार्किङको विषयमा शुरू भएको विवाद दुई पक्षबीच झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू आदेश जारी गरेर सेना परिचालन गर्नुपरेको थियो । आज बिहान पौने १० बजेदेखि शुरू भएको कर्फ्यू अघि दिउँसो साढे ४ बजेपछि हटेको हो ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार  २१ : २२  बजे