परिवर्तनको हुटहुटी बोकेर हिँडेको हुँ, सही कुराका लागि मात्रै मेरो जिद्दी होः अध्यक्ष ओली

काठमाडौं, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्र दृढ र अडिग रहने व्यक्तित्व भएको उल्लेख गर्नुभएको छ। परिवर्तनको आकांक्षा किशोरावस्थादेखि नै बोकेर राजनीतिक यात्रामा होमिएको स्मरण गर्दै उहाँले पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि संकल्पसहित संघर्षमा उत्रिएको बताउनुभयो।

उहाँले तत्कालीन दमन र कठिन परिस्थितिको सामना गर्दै पनि आफ्नो लक्ष्यबाट पछि नहटेको उल्लेख गर्नुभयो। जेल सजाय, यातना तथा विभिन्न दमनका उपायहरूका बाबजुद पनि पञ्चायत र राजतन्त्रको अन्त्य गरेरै छाड्ने अठोटका साथ अघि बढेको उहाँको भनाइ छ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने आफ्नो अर्को लक्ष्य पनि सफलतापूर्वक पूरा गरेको दाबी गर्दै उहाँले दुई तिहाइ हैसियतको पार्टी निर्माण भएको उल्लेख गर्नुभयो। यद्यपि, उक्त उपलब्धि केही शक्तिहरूले सहन नसकी पार्टी विभाजनतर्फ धकेलेको गुनासो उहाँको छ।

आफूमाथि लाग्ने ‘जिद्दी’को आरोपप्रति स्पष्ट पार्दै अध्यक्ष ओलीले गलत वा अनुचित कुरामा कहिल्यै अडान नलिने, तर सही र न्यायोचित विषयमा भने दृढतापूर्वक उभिने स्वभाव रहेको बताउनुभयो।

“संघर्षशील जीवन रमाइलो नहुन सक्छ, तर सही कामका लागि गरिने संघर्षको अन्त्य सधैँ सुखद् हुन्छ,” उहाँको भनाइ छ। सही उद्देश्यका लागि गरिएको अडानलाई जिद्दीका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने उहाँले प्रस्ट पार्नुभयो।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार  १४ : २८  बजे