रास्वपा झनै संकटमा: मकवानपुरका जिल्ला अध्यक्ष पार्टीबाट बाहिरिए

काठमाडौं, ११ फागुन । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। पछिल्लो तीन सातायता केन्द्र, प्रदेश र स्थानीय तहका प्रभावशाली नेताहरूले क्रमशः पार्टी परित्याग गरेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली सर्लाही पुगेर काङ्ग्रेसमै फर्किनुभएको छ ।

नेपाली काङ्ग्रेसका सभापति गगन थापा सामु पुगेर काङ्ग्रेस फर्किनुभएको हो । उहाँ यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वापाबाट टिकट नपाएपछि असन्तुष्ट हुनुभएको थियो । पार्टीको भनाइ र गराइमा एकरूपता नदेखिएको, टिकट वितरण र निर्णय प्रक्रियामा पारदर्शिता नभएको तथा नेतृत्व शैलीप्रति असहमति रहेको उनीहरूको आरोप छ। त्यसअघि रास्वपाका केन्द्रीय तहका नेता प्रणय शमसेर राणाले पार्टी परित्याग गर्नुभएको थियो। उहाँले पार्टीको वैकल्पिक राजनीतिक प्रतिबद्धता व्यवहारमा नदेखिएको, निर्णय प्रक्रिया सीमित घेरामा केन्द्रित भएको र आन्तरिक बहसको संस्कृति कमजोर बनेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभएको हो । गुप्त सेन ठकुरी सुस्ता गाउँपालिका उपसभापति, पश्चिम नवलपरासी सुस्ता गाउँपालिका उपसभापति गुप्त सेन ठकुरीले हालै पार्टी परित्याग गर्नुभएको छ । उहाँ रास्वपाका जिल्ला सभापति महेन्द्र सेन ठकुरीका दाजु हुनुहुन्छ । बागमती प्रदेश उपसभापति वागमती प्रदेश उपसभापति दिपेन्द्र हुमागाईंले फागुन ६ गते राजीनामा दिनुभयो।

उहाँले सदस्यता र आर्थिक व्यवस्थापनमा पारदर्शिताको अभाव, टिकट छान्नमा भेदभाव, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र पार्टी विधानको अवमानना भएको आरोप लगाउनुभएको छ। प्युठानका नगर सदस्य सूर्यबहादुर गैरेले रास्वपा छाडेर नेपाल कम्युनिस्ट पार्टी एमालेप्रवेश गर्नुभएको छ । त्यसअघि मधेस प्रदेश संस्थापक सभापति, मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि फागुन ६ गते पार्टी परित्याग गर्नुभयो । उहाँले सुशासन र पारदर्शिताको वाचा पूरा नभएको आरोप लगाउनुभयो। यसैगरी बर्दघाटका नेता जीतबहादुर हरिजनले फागुन ९ गते पार्टी छोड्नुभयो । देशभर नयाँ र पुराना दलबीच प्रतिस्पर्धा चर्किएको भनिए पनि व्यवहारमा पुराना दलको संगठनात्मक जरा बलियो देखिन्छ। नयाँ दलहरू भने आन्तरिक व्यवस्थापनमै व्यस्त हुँदा अपेक्षित प्रतिस्पर्धा कमजोर देखिएको विश्लेषको तर्क छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार  ०८ : ३९  बजे