घण्टी, डोजर वा खुकुरी जस्ता भौतिक चिह्न प्रयोगमा आयोगको रोक

काठमाडौं, १० फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग गर्न नपाइने भएको छ। निर्वाचन आयोग ले सक्कली घण्टी, डोजर वा खुकुरीजस्ता सामग्री प्रयोग गरेर प्रचार गर्न रोक लगाएको हो।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले ‘घण्टी’ बजाउँदै देशव्यापी रूपमा प्रचार गरेको र यसले आचारसंहिता उल्लंघन गरेको भन्दै गुनासो आएपछि आयोगले कडाइ गरेको जनाएको छ। यस विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेको थियो। राप्रपाले “घण्टी बजाउँदै हिँड्दा आयोग किन मौन?” भन्ने प्रश्न उठाएको थियो।

कतिपयले रास्वपाको आक्रामक प्रचार शैलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को ‘डोजर शैली’ सँग तुलना गर्दै टिप्पणी गरेका थिए।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई द्वारा जारी सूचनामा भनिएको छ, “राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने गरी धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक निर्वाचन चिह्न प्रयोग गर्न पाउने छैनन्। आचारसंहिता विपरीत यस्ता कार्य भए तत्काल कारबाही गरिनेछ।”

निर्णयसँगै अब रास्वपाले प्रचारका क्रममा घण्टी बजाउन नपाउने भएको छ भने अन्य दलले पनि खुकुरी वा हतियारजस्ता देखिने भौतिक चिह्न प्रदर्शन गर्न पाउने छैनन्। आयोगले दलहरूलाई झण्डा र निर्वाचन चिह्नको सामान्य तथा स्वीकृत माध्यमबाट मात्रै प्रचार गर्न निर्देशन दिएको छ।

यस विषयमा राप्रपाले पुनः प्रश्न उठाउँदै “घण्टी नदेख्नेले खुकुरी नचाउँदा देख्छ कि देख्दैन?” भन्दै समान रूपमा आचारसंहिता कार्यान्वयन गर्न आयोगलाई आग्रह गरेको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार  २० : ३८  बजे