भक्तपुरमा एमाले उम्मेदवारद्वारा प्रतिबद्धतापत्र सार्वजनिक, सुशासन र रोजगारी प्राथमिकतामा

काठमाडौं, १० फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का भक्तपुरस्थित उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ।

आइतबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र नम्बर १ का उम्मेदवार सोम प्रसाद मिश्र तथा क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेत ले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो।

उहाँहरूले राष्ट्र र राष्ट्रियताको सवालमा पार्टीको स्पष्ट अडान जनतासामु राख्दै सुशासन, जनजीविका र रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

एमालेका सचिवसमेत रहनुभएका उम्मेदवार बस्नेतले वैदेशिक हस्तक्षेप रोक्नु यसपटकको मुख्य एजेन्डा भएको बताउनुभयो। उहाँले शासक नभई सेवकका रूपमा जनतामाझ जाने उल्लेख गर्दै भक्तपुरको सम्पदाको संरक्षण र विकासमार्फत सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा अघि बढाइने बताउनुभयो।

त्यस्तै, उम्मेदवार मिश्रले भू–उपयोग वर्गीकरणमा जनताको भावना समेट्ने नीति निर्माण गर्ने, संवैधानिक नियुक्तिलाई पारदर्शी बनाउने तथा भ्रष्टाचार र अनियमितता निरुत्साहित गर्ने एजेन्डा अघि सार्नुभएको छ।

एमाले उम्मेदवारहरूले भक्तपुरको समग्र विकासका लागि ठोस र कार्यान्वयनयोग्य कार्यक्रमसहित मतदातामाझ जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार  २० : १३  बजे