काठमाडौं, १० फागुन । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आफ्ना उम्मेदवारमाथि दुर्व्यवहार र अपमानका घटना बढेको जनाएको छ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसे ले निर्वाचनको तयारीका क्रममा कांग्रेस उम्मेदवारलाई लक्षित गर्दै दुर्व्यवहार र आक्रमणका घटना भइरहेको आरोप लगाउनुभयो।
उहाँले फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा यस्ता गतिविधि बढेको भन्दै तत्काल रोक्न माग गर्नुभयो। “कांग्रेस उम्मेदवारमाथि दुर्व्यवहार र अपमान गर्ने काम भइरहेको छ, यो तत्काल बन्द हुनुपर्छ,” उहाँले भन्नुभयो।
सरकारले निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसले हालसम्म निर्वाचन प्रक्रियामाथि शंका नगरेको स्पष्ट पार्नुभयो। “सरकारले निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्छ। कांग्रेसले अहिलेसम्म शंका गरेको छैन,” उहाँको भनाइ थियो।
प्रवक्ता चालिसेले कांग्रेसले भयको राजनीति नगर्ने बताउँदै उम्मेदवार तथा नेता–कार्यकर्तालाई दृढतापूर्वक चुनावी प्रचारमा लाग्न आग्रह गर्नुभयो। निर्वाचनको माहोलमा धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न पनि उहाँले सबै पक्षलाई सचेत गराउनुभयो।
व्यक्तिगत गालीगलौज र पार्टीका झण्डा जलाउने कार्य निन्दनीय भएको उल्लेख गर्दै उहाँले दाङको तुलसीपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झण्डा जलाइएको घटनाको समेत कांग्रेसले निन्दा गरेको जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको दाबी गर्दै अन्य दलमा आबद्ध नेता–कार्यकर्तालाई कांग्रेसमा फर्किन आह्वानसमेत गर्नुभयो। “घर छाडेका साथीहरू कांग्रेसमा फर्किनुहोस्, अन्य पार्टीमा जोडिनुभएकाहरू पनि आउनुहोस्, हामी स्वागत गर्छौं,” उहाँले भन्नुभयो।









प्रतिक्रिया