निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्रका २३ एसएसपी खटिँदै

काठमाडौं, १० फागुन । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले निर्वाचन सुरक्षा अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खटाउने निर्णय गरेको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार ती एसएसपीहरू सोमबारदेखि आ–आफ्नो कार्यक्षेत्रमा परिचालित हुनेछन्। उनीहरू प्रधान कार्यालय तथा प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका हुन्।

आइतबार भर्चुअल माध्यमबाट आयोजित निर्देशन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ले विशेष निर्देशन दिनुभएको छ। उहाँले निर्वाचन पूर्व, निर्वाचनका दिन तथा निर्वाचनपछिको अवधिमा उत्पन्न हुन सक्ने जुनसुकै परिस्थितिको सामना गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन निर्देशन दिनुभएको प्रवक्ता भट्टले जानकारी दिनुभयो।

महानिरीक्षक अर्यालले उम्मेदवार, मतदान केन्द्र, मतदाता तथा मतपेटिकाको सुरक्षामा विशेष सतर्कता अपनाउन निर्देशन दिनुभएको छ। साथै, सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कमाण्डरहरूसँग समन्वय, उम्मेदवारहरूसँग नियमित सम्पर्क तथा फिल्डमा देखिएका कमीकमजोरीबारे तत्काल मुख्यालयलाई जानकारी गराउन भनिएको छ।

निर्वाचन ड्युटीमा खटिने सुरक्षाकर्मीलाई सभ्य र नम्र व्यवहार गर्न तथा सेवा–सुविधासम्बन्धी गुनासो आउन नदिने गरी काम गर्नसमेत निर्देशन दिइएको छ। सीमा क्षेत्रको निगरानी सुदृढ पार्न, आवश्यक परे मानवअधिकारको पूर्ण पालना गर्दै मात्र बल प्रयोग गर्न र त्यससम्बन्धी प्रमाण सुरक्षित राख्न पनि भनिएको छ।

निर्वाचन बिथोल्ने प्रयास गर्ने तत्वको पहिचान गरी कानुनअनुसार कारबाही गर्न मातहतका सबै कमाण्डर स्पष्ट हुनुपर्ने महानिरीक्षक अर्यालको निर्देशन रहेको छ।

सोमबारदेखि देशका ७७ वटै जिल्लामा अनुगमनमा खटिने वरिष्ठ अधिकृतहरूले फिल्ड र मुख्यालयबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रवक्ता भट्टले बताउनुभयो।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार  १९ : २१  बजे