काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले निर्वाचन स्थगित गराउने प्रयास भइरहेको दाबी गर्दै अब निर्धारित समयमै चुनाव हुनुपर्ने बताउनुभएको छ।
अध्यक्ष ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेको अवस्थामा चुनाव स्थगित गर्नु उपयुक्त नहुने धारणा राख्नुभयो। उहाँले एमाले कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको स्पष्ट पार्नुभयो।
“हामी अब चुनाव होस् भन्ने पक्षमै छौं। चुनाव स्थगित हुन पनि सक्छ, अहिले पनि विभिन्न प्रयास भइरहेका छन्। तर हामी अलमल नगरी चुनावको तयारीमा लाग्छौं, विजयको तयारीमा लाग्छौं। हामीले जित्नै पर्छ,” उहाँले भन्नुभयो।
उहाँले विगत ६ महिनादेखि आफूहरूले पहल गर्दा कसैले चासो नदिएको तर अन्तिम समयमा आएर चुनाव नहुने कुरा उठाउनु गलत भएको बताउनुभयो। “देशको अर्बौं रुपैयाँ खर्च भइसकेको छ। उम्मेदवारहरूको पनि ठूलो खर्च भइसकेको छ। अब चुनाव हुँदैन भन्नु उचित होइन,” उहाँको भनाइ थियो।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित टिप्पणी गर्दै आधारहीन ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगोमा उम्लिएको दूधजस्तै भएको टिप्पणी गर्नुभयो। उहाँले चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि झण्डा जलाउने, वातावरण बिथोल्ने र अपमानजनक गतिविधि सुरु गरिएको आरोप समेत लगाउनुभयो।
अध्यक्ष ओलीले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै शान्तिपूर्ण र निष्पक्ष वातावरण सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो।









प्रतिक्रिया