रास्वपाले चुनाव भाँड्न खोजेको एमालेको आरोप

काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि प्रतिनिधिसभा निर्वाचन भाँड्न खोजेको आरोप लगाएको छ।

शनिबार विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मुलुकमा भय र त्रासको वातावरण सिर्जना गरिएको दाबी गरेको छ। स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले भरपर्दो शान्ति–सुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप एमालेको छ।

एमालेले आफ्नो आस्थाको केन्द्र ‘सूर्य’ अंकित झण्डा जलाउने, पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने तथा देशलाई चुनावी द्वन्द्वतर्फ धकेल्ने गतिविधि भइरहेको जनाएको छ। यस्ता गतिविधिलाई गम्भीर षड्यन्त्रका रूपमा लिँदै सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

विज्ञप्तिमा एमालेले आफूहरू कठिन परिस्थितिमा समेत धैर्य र संयमताका साथ जनताको घरदैलोमा पुगेको उल्लेख गरेको छ। फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने र जलाउनेबीचको जनमत संग्रह’का रूपमा व्याख्या गर्दै कथित नयाँ नारामा ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, नक्कली सर्वेक्षण परिणाम सार्वजनिक गर्ने र जनमत प्रभावित पार्ने प्रयास बढेको आरोप लगाइएको छ।

एमालेले चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि हिंसा भड्काउने तथा निर्वाचन प्रभावित पार्ने षड्यन्त्र भएको दाबी गरेको छ। समुदाय–समुदायबीच अन्तरविरोध सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै रौतहटको गौरमा जारी अनिश्चितकालीन कर्फ्यूलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

निर्वाचन आचारसंहिताको उल्लंघन भइरहेको भन्दै अमुक पार्टीका चिन्ह र तस्बिर अंकित सामग्री होली पर्वको अवसरमा वितरण गरिएकोप्रति पनि एमालेले आपत्ति जनाएको छ। निर्वाचन आयोगको भूमिकाप्रति समेत गम्भीर आशंका व्यक्त गरिएको छ।

एमालेले देशभर दलहरूको झण्डा र चुनाव चिन्ह जलाउने, अशान्ति फैलाउने गतिविधि रास्वपाको संलग्नतामा भइरहेको दाबी गर्दै यसलाई चुनाव भाँड्ने प्रयासका रूपमा चित्रण गरेको छ। निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग एमालेले गरेको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार  ०९ : ३८  बजे