काडमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाको विरोधमा देशका विभिन्न शहरमा मसाल जुलुस र कालो झण्डा प्रदर्शन गरेको छ। पार्टीले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एमालेका अनुसार बिहीबार राति दाङको तुल्सीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले सूर्य अंकित झण्डा जलाएका थिए। त्यसको विरोधमा दाङसहित प्रमुख शहरहरूमा एमालेका भातृसंगठनहरूले प्रदर्शन गरेका हुन्।
राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियू र भोलिन्टियर फोर्सले मसाल जुलुस निकाल्दै संलग्नमाथि कारबाहीको माग गरेका छन्। भातृसंगठनहरूले दोषीमाथि तत्काल कारबाही प्रक्रिया अघि नबढाए थप कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए।
चेतावनीपछि प्रहरी सक्रिय बनेको छ। नेपाल प्रहरी का अनुसार झण्डा जलाउने घटनामा संलग्न रहेको आरोपमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरिएको छ। घटनाबारे सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ।
निर्वाचनको संवेदनशील समयमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न तथा संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न प्रहरीले सबै पक्षलाई आग्रह गरेको छ।
यसैबीच, एमालेले झण्डा जलाउने घटनाको कडा शब्दमा भर्त्सना गरेको छ। पार्टीका प्रेस संयोजन तथा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपाच्य नाराबाजीसहित गरिएको गतिविधिलाई राज्य, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भनिएको छ।
एमालेले यदि झण्डा जलाउने दल र संलग्न कार्यकर्तामाथि कानुनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी सरकार, निर्वाचन आयोग तथा सम्बन्धित दलले लिनुपर्ने चेतावनी दिएको छ।









प्रतिक्रिया