७ महिनामा ३ लाख २५ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

काठमाडौ, ८ फागुन । चालू आर्थिक वर्षको ७ महिनामा ३ लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक यहाँ आएका हुन् ।बेनी(जोमसोम सडकमार्ग हुँदै साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार ४ जना विदेशी तथा स्वदेशी पर्यटक आएका थिए ।गत वर्षको साउनदेखि माघसम्म तीन लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । प्रहरीको तथ्याङ्कअनुसार गत वर्षको ८ महिनाको तुलनामा चालू आवको सोही अवधिमा १८ हजार १७१ जना ९५।३३ प्रतिशत० पर्यटक कम भित्रिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नवराज न्यौपानेले म्याग्दी र मुस्ताङको सिमाना घाँसामा सडकमार्ग हुँदै मुस्ताङ भित्रिने विदेशी तथा स्वदेशी पर्यटकको अभिलेख संकलन हुँदै आएको बताए । पोखरा(जोमसोम हवाई सेवामार्फत मुस्ताङ भित्रिएका र मनाङ हुँदै थोरङलापास गरी मुस्ताङ भित्रिएका पर्यटकको मातहतका प्रहरी एकाइहरूले अभिलेख संकलन गर्छन् ।

मुस्ताङमा आव २०८०र८१ मा चार लाख ५४ हजार ३२६ जना र आव २०८१र८२ मा सात लाख पाँच हजार ७७९ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय राष्ट्रिय गौरवको ९बेनी(जोमसोम(कोरला० सडक बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटकको आगमनदर बढेको छ । मुस्ताङमा भित्रिएका सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन् । अन्य राष्ट्रका विदेशी पर्यटक भने बेनी(जोमसोम सडकमार्ग र मनाङ हुँदै थोरङ्लपास क्रस गरी मुस्ताङ आउँछन् ।

मुस्ताङको कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध गर्न तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो छ । मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् । पछिल्लो समय जोमसोमकोरला सडक सहज भएपछि उल्लेख्य सङ्ख्यमा स्वदेशी पर्यटक कोरला नाकासम्म पुग्छन् ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार  ०८ : ०२  बजे