काठमाडौ, ८ फागुन ८ । आईसीसी टी–२० विश्वकपमा समूह ‘डी’ को खेलमा अफगानिस्तानले क्यानडालाई ८२ रनले पराजित गरेको छ । भारतको चेन्नईमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०० रन बनायो ।
अफगानिस्तानका ओपनर रहमानुल्लाह गुरबाजले २० बलमा ३० रन बनाए भने इब्राहिम जाद्रानले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा अविजित ९५ रन प्रहार गरे । उनले ७ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए । २ सय १ रनको लक्ष्य पछ्याएको क्यानडा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १८ रनमै सीमित भयो ।
त्यसअघि हिजै भएको खेलमा जिम्बावेले श्रीलंकालाई ६ विकेटले पराजित गर्यो भने वेस्ट इन्डिजले इटालीलाई ४२ रनले हरायो । ‘सुपर एट’ मा पुगिसकेको वेस्ट इन्डिज लगातार चार खेलमा जितेर समूह ‘सी’ को शीर्ष स्थान कायम राख्न सफल भयो । विश्वकपमा ‘सुपर एट’ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ ।
समूह ‘ए’ बाट भारत र पाकिस्तान, समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बावे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्गल्यान्ड तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड ‘सुपर–एट’ मा पुगेका छन् । ‘सुपर एट’ का खेलहरु भोलिदेखि शुरू हुनेछन् । ‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहनेछन् ।
‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ । विश्वकपमा आज बेलुकी सवा ७ बजे श्रीलंकाको पल्लेकेले मैदानमा ओमान र अस्ट्रेलियाबीच खेल हुनेछ ।









प्रतिक्रिया