एमालेको घोषणा: दैलेखको ग्यास र धौवादी फलाम खानी सञ्चालनमा ल्याउने

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)ले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको घोषणापत्रमा दैलेखको ग्यास तथा धौवादी फलाम खानीलाई व्यावसायिक उत्पादनमा लैजाने प्रतिबद्धता जनाएको छ।

एमालेले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। समतामूलक र द्रुत आर्थिक विकासमार्फत चरम गरिबी अन्त्य गर्दै अर्थतन्त्रको आकार पाँच वर्षमा १ सय खर्ब रुपैयाँ र दस वर्षमा २ सय खर्ब रुपैयाँ पुर्‍याउने योजना प्रस्तुत गरिएको छ।

७–९ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य

घोषणापत्रअनुसार कृषि, विद्युत, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार क्षेत्रमा तीव्र विस्तार गर्दै वार्षिक ७ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ। कृषि आधुनिकीकरण, उत्पादनमुखी नीतिहरू, पूँजी बजार सुदृढीकरण र आन्तरिक तथा बाह्य लगानी आकर्षणलाई प्राथमिकता दिइने उल्लेख छ।

सार्वजनिक ऋण राष्ट्रिय क्षमताभन्दा माथि जान नदिने, बजेट कार्यान्वयन प्रभावकारी बनाउने तथा राष्ट्रिय प्राथमिकताका आयोजनामै ऋण उपयोग गर्ने नीति लिइने जनाइएको छ।

वार्षिक ५ लाख रोजगारी

एमालेले हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ। कृषि, खाद्य प्रशोधन, पूर्वाधार, हरित उद्योग र सेवा क्षेत्रमा रोजगारी वृद्धि गर्ने लक्ष्य राखिएको छ। प्रत्येक पालिकामा श्रम डेस्क स्थापना, सीपमूलक शिक्षा विस्तार, डिजिटल तथा रिमोट रोजगारी प्रवर्द्धन र पाँच वर्षमा श्रम आय दोब्बर बनाउने योजना पनि घोषणापत्रमा समेटिएको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सस्तो ऋण, तालिम र सुरक्षा उपलब्ध गराउने तथा फर्किएका श्रमिकलाई उद्यम सञ्चालनमा सहयोग गरिने उल्लेख छ। नेपाललाई भारत र चीनबीच ‘लजिस्टिक हब’का रूपमा विकास गर्ने लक्ष्य पनि राखिएको छ।

आवासदेखि ‘मेगा सिटी’सम्म

भूमिहीन, सुकुम्वासी तथा न्यून आय भएका परिवारलाई सहुलियत ऋणमार्फत घर वा अपार्टमेन्ट खरिदमा सहयोग गर्ने तथा ‘नागरिक आवास कोष’ स्थापना गर्ने घोषणा गरिएको छ।

मध्यपहाडी लोकमार्ग, कोशी–गण्डकी–कर्णाली करिडोर र हुलाकी राजमार्गलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने, उपमहानगरहरूमा ‘युटिलिटी टनेल’ तथा शहरहरूमा ‘अण्डरग्राउन्ड युटिलिटी करिडोर’ निर्माण गर्ने लक्ष्य राखिएको छ।

दुई वर्षभित्र सबै घरमा खानेपानी

आगामी दुई वर्षभित्र सबै घरधुरीमा आधारभूत खानेपानी तथा सरसफाइको पहुँच पुर्‍याउने र पाँच वर्षभित्र सुरक्षित तथा गुणस्तरीय खानेपानी सुनिश्चित गर्ने योजना सार्वजनिक गरिएको छ। खानेपानी व्यवस्थापनमा जीआईएस प्रणाली लागू गरिने उल्लेख छ।

उद्योग, निर्यात र सहकारी सुधार

दैलेखको ग्यास र धौवादी फलाम खानी सञ्चालनसँगै उत्पादनमूलक उद्योग विस्तार गरी औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको छ। प्रत्येक प्रदेशमा कम्तीमा एक विशेष आर्थिक क्षेत्र सञ्चालन गर्ने तथा ‘एकल बिन्दु सेवा केन्द्र’मार्फत उद्योगसम्बन्धी सेवा अनलाइन उपलब्ध गराइने योजना छ।

तीन वर्षभित्र निर्यात दोब्बर र पाँच वर्षभित्र तेब्बर बनाउने, ‘निर्यात पहिलो’ नीति लागू गर्ने तथा भन्सार प्रणाली आधुनिकीकरण गरी ४८ घण्टाभित्र जाँचपास सम्पन्न गर्ने व्यवस्था गरिने उल्लेख छ।

सहकारी क्षेत्रलाई पारदर्शी र उत्तरदायी बनाउँदै बचतकर्ताको रकम सुरक्षित गर्ने तथा समस्याग्रस्त सहकारीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश छ।

सुशासन र समृद्धिका २५ स्तम्भ

एमालेले भ्रष्टाचार नियन्त्रण, सुशासन सुदृढीकरण, डिजिटल सेवा विस्तार, जलविद्युत् उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, युवा उद्यम र खेलकुद पूर्वाधार विकासलगायतका विषयलाई समृद्धिका २५ स्तम्भका रूपमा अघि सारेको छ।

घोषणापत्रमा विगतमा गरेका उपलब्धिहरूको उल्लेख गर्दै “भ्रम होइन, तथ्यमा विश्वास गरौँ” भन्ने सन्देशसमेत दिइएको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार  १९ : ५८  बजे