विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं : अध्यक्ष ओली

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश रहेको स्पष्ट पार्नुभएको छ।

राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, स्वाभिमान, शान्ति र सुव्यवस्था सबैभन्दा माथि रहेको बताउनुभयो।

“यस घडीमा हाम्रो प्राथमिकता एउटै हो—देश पहिला। देशको भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्था यी सबैभन्दा माथि केही छैन,” अध्यक्ष ओलीले भन्नुभयो।

उहाँले आफूहरू निर्माणको पक्षमा रहेको र उत्तेजना तथा आवेगको राजनीतिबाट टाढा रहेको उल्लेख गर्नुभयो। “हामी निर्माणको पक्षमा छौं, उत्तेजनाको पक्षमा होइन। हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौं। आक्रमणका बेलामा पनि मौन बस्दैनौं,” उहाँले बताउनुभयो।

अध्यक्ष ओलीले आफ्नो पार्टी विचारहीन र दिशाहीन स्टन्टको राजनीतिबाट टाढा रहेको दाबी गर्दै स्पष्ट लक्ष्यसहित अघि बढिरहेको उल्लेख गर्नुभयो।

“हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं। त्यसकारण हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं। हाम्रो गन्तव्य स्पष्ट छ—समृद्ध नेपाल, सुखी नेपाली,” उहाँले भन्नुभयो।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार  १४ : १२  बजे