ललितपुर–२ मा घरदैलो क्रममा चर्काचर्की, रास्वपा उम्मेदवार खरेल विवादमा

काठमाडौँ , ६ फागुन । ललितपुर क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल र स्थानीय मतदाताबीच चर्काचर्की भएको छ। भोट माग्न पुग्नुभएका खरेल र मतदाताबीचको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसमा उहाँ आक्रोशित मुद्रामा देखिनुभएको छ।

स्थानीयका अनुसार विवादको सुरुवात एक मतदाताले रास्वपालाई ‘विदेशी एजेन्ट’को आरोप लगाएपछि भएको हो। उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै खरेलले ती मतदातालाई ४५ वर्षदेखि देश लुटेर खाने दलको ‘हनुमान’ भएको टिप्पणी गर्नुभएको भिडियोमा सुनिन्छ।

मतदाताले खरेलको बार्बरा फाउन्डेसनसँगको आबद्धतामाथि प्रश्न उठाएपछि अवस्था झनै तनावपूर्ण बनेको बताइएको छ। आरोप पुष्टि गर्न चुनौती दिँदै उहाँले आफ्नो पार्टीले मात्र देश निर्माण गर्न सक्ने दाबी गर्नुभएको थियो।

पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका खरेलमाथि पछिल्लो समय ‘भगौडा मन्त्री’को आरोपसमेत लाग्दै आएको छ। चुनाव गराउने म्यान्डेटसहित सरकारमा सहभागी हुनुभएका उहाँले बीचमै मन्त्री पद त्यागेर रास्वपाबाट उम्मेदवारी दिएपछि केही स्थानीय असन्तुष्ट देखिएका छन्।

निर्वाचन क्षेत्रमा पुग्दा मतदाताले पुराना अडान, राजनीतिक नैतिकता र दल परिवर्तनका विषयमा प्रश्न उठाउने गरेका दृश्य सार्वजनिक भइरहेका छन्। मतदातालाई ‘हनुमान’ भनेर सम्बोधन गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा उहाँको आलोचना भइरहेको छ।

यस घटनाबारे आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। निर्वाचनको मुखमा भएको यो घटनाले ललितपुर–२ को चुनावी माहोल थप तातिएको देखिएको छ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार  २१ : २८  बजे