काठमाडौँ, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको थरलाई लिएर सार्वजनिक बहस सुरु भएको छ। ‘साह’ र ‘शाह’ शब्द प्रयोगमा देखिएको भिन्नतापछि कानुनी उपचारको खोजीसमेत हुन थालेको बताइएको छ।
झापा–५ बाट उम्मेदवारी दिनुभएका शाहले हालैका सभाहरूमा आफूलाई मधेससँग जोडेर परिचय दिनुभएपछि नागरिकतामा उल्लेखित थरका विषयमा चासो बढेको हो। यसअघि उहाँले दिनुभएको अभिव्यक्तिपछि यो विषय थप चर्चामा आएको थियो।
उपलब्ध विवरणअनुसार उहाँले २०६३ पुस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट नागरिकता लिँदा थर ‘साह’ उल्लेख भएको देखिन्छ। तर २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रथम प्रतिलिपि लिँदा ‘साह’को ठाउँमा ‘शाह’ उल्लेख भएको पाइएको छ। सो प्रतिलिपिमा उहाँका पिता स्वर्गीय रामनारायण साहको थर पनि ‘शाह’ लेखिएको देखिएको छ।
यद्यपि उक्त परिवर्तन उहाँको अनुरोधमा भएको हो वा प्रशासनिक त्रुटिका कारण भएको हो भन्ने विषय हालसम्म स्पष्ट भएको छैन। उहाँका दाजु कौशलेन्द्र साहको नागरिकतामा भने ‘साह’ नै उल्लेख रहेको जनाइएको छ, जसका कारण परिवारभित्रै थर फरक देखिएको भन्दै थप जिज्ञासा उत्पन्न भएको छ।
नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ को दफा १२ र १७ अनुसार झुटो विवरण दिई नागरिकता लिएको प्रमाणित भएमा नागरिकता रद्द हुन सक्ने तथा सामान्य त्रुटि मात्र सच्याउन सकिने व्यवस्था छ। थर परिवर्तनका लागि कानुनी आधार र प्रमाण आवश्यक पर्ने कानुनविद्हरूको भनाइ छ।
यस विषयमा प्रतिक्रिया लिन उहाँको सचिवालयसँग सम्पर्क गर्ने प्रयास भए पनि आधिकारिक धारणा सार्वजनिक भएको छैन। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले भने कार्यालयमा यस सम्बन्धमा कुनै औपचारिक उजुरी नआएको जानकारी दिनुभएको छ।
थरसम्बन्धी विवादबारे आधिकारिक स्पष्टता आएपछि मात्र वास्तविक अवस्था प्रस्ट हुने देखिएको छ।









प्रतिक्रिया