काठमाडौं, ५ फागुन। आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।
मुम्बईस्थित वानखेडे स्टेडियम मा सम्पन्न खेलमा १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरी नायक बने। उनले अविजित ५० रन प्रहार गर्दै टोलीलाई जितसम्म पुर्याए। कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३ रन जोडे भने कप्तान रोहित पौडेलले १६ रन बनाए। गुलशन झा २४ रनमा अविजित रहे।
स्कटल्यान्डका लागि माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए पनि त्यो टोलीलाई जित दिलाउन पर्याप्त भएन।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो। माइकल जोन्सले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७१ रनको आक्रामक इनिङ्स खेले। जर्ज मुन्सीले २७ तथा ब्रेन्डन म्याकमुलनले २५ रनको योगदान दिए।
नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट लिए।
दीपेन्द्रको संयमित र निर्णायक ब्याटिङसँगै नेपालले रोमाञ्चक जित दर्ता गर्दै विश्वकप यात्रा सुखद रूपमा टुंग्याएको छ।










प्रतिक्रिया