‘निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रहजस्तै’ : पुष्पकमल दाहाल

रुकुमपूर्व, ५ फागुन  । चुनावी अभियानका क्रममा विकट बस्तीहरूको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान निर्वाचन तीन फरक प्रवृत्तिबीचको जनमत संग्रहजस्तै बनेको बताउनुभएको छ।

उहाँले भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै जेन्जी युवामाथि भएको हत्या, त्यसपछिका आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्नुभयो। २३ गते साँझ भएको घटनाप्रति आफूहरूले तत्काल विरोध जनाएको उल्लेख गर्दै उहाँले सम्बन्धित पक्षले आत्मसमीक्षा नगर्नु खतरनाक संकेत भएको बताउनुभयो।

“गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ। जनताले यसलाई गम्भीर रूपमा नबुझे भविष्यमा फेरि दोहोरिन सक्छ,” उहाँले चेतावनी दिनुभयो।

२४ गते भएको आगजनी तथा तोडफोडका घटनामा वामपन्थी र लोकतान्त्रिक शक्तिका घरमा आक्रमण भएको दाबी गर्दै उहाँले देशलाई अस्थिर बनाउने प्रवृत्तिविरुद्ध स्पष्ट रूपमा उभिएको बताउनुभयो। “२३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध हामी जनतालाई सचेत गराइरहेका छौँ,” उहाँले भन्नुभयो, “यी घटना दोहोरिन नदिन हाम्रो पार्टी प्रतिबद्ध छ।”

देशमा अहिले तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गर्दै उहाँले यसपटकको निर्वाचनलाई जनताले दिशानिर्धारण गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा उभिनुपर्ने उहाँको जोड थियो।

निर्वाचन ‘फिक्सिङ’ सम्बन्धी चर्चालाई अस्वीकार गर्दै उहाँले निष्पक्ष निर्वाचन भए आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभयो। “देशभरबाट प्राप्त रिपोर्टअनुसार निष्पक्ष निर्वाचन भयो भने नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्छ,” उहाँले भन्नुभयो, “देश र जनताको पक्षमा काम गर्ने शक्ति हामी नै हौँ।”

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  २१ : ३२  बजे