मत सर्वेक्षणको नतिजा सार्वजनिक नगर्न सञ्चारमाध्यमलाई कार्यवाहक प्रमुख आयुक्तको आग्रह

काठमाडौं, ५ फागुन ।  रामप्रसाद भण्डारीले निर्वाचनअघि मत सर्वेक्षण गरी त्यसको नतिजा सार्वजनिक नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गर्नुभएको छ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदानअघि नै हार–जीतको अनुमान सार्वजनिक गर्दा मतदाताको स्वतन्त्र निर्णय प्रभावित हुन सक्ने बताउनुभयो। यस्तो अभ्यासले उम्मेदवारलाई हतोत्साही बनाउने र स्वस्थ प्रतिस्पर्धाको वातावरणमा खलल पुर्‍याउने उहाँको भनाइ थियो।

निर्वाचन आचारसंहिता २०८२ को मर्मअनुसार मतदातालाई स्वतन्त्र रूपमा निर्णय लिन दिने वातावरण सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। मतदानअघि नै मत सर्वेक्षणको आधारमा नतिजा सार्वजनिक गर्नु आचारसंहिताविपरीत हुन सक्ने भन्दै उहाँले त्यसतर्फ सचेत रहन अनुरोध गर्नुभयो।

भण्डारीले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतामा गम्भीर असर पार्न सक्ने चेतावनी पनि दिनुभयो। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी तयार गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा प्रसारण नगर्न र नगराउन सञ्चारमाध्यम तथा सम्बन्धित पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

“मतदान हुनुअघि मतदाताको कुराकानीलाई आधार बनाएर हार–जीतको अनुमान गर्ने वा मत सर्वेक्षणको नतिजा सार्वजनिक गर्ने अभ्यासप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,” उहाँले भन्नुभयो, “नतिजा पहिल्यै घोषणा गर्ने कार्यले मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्छ, त्यसैले यस्तो काम नगर्न आयोगको तर्फबाट विनम्र अनुरोध गर्दछु।”

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  २१ : २१  बजे