काठमाडौं, ५ फागुन । सुशीला कार्कीले काठमाडौं–तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनासम्बन्धी विवाद थाती राख्दै वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिनुभएको छ।
ललितपुरको खोकनामा धार्मिक तथा सांस्कृतिक सम्पदामा असर पर्ने भन्दै स्थानीय समुदायबाट निरन्तर चासो व्यक्त हुँदै आएको सन्दर्भमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री कार्कीले विवादमा अल्झिएर आयोजना रोक्न नहुने स्पष्ट गर्नुभयो। उहाँले राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्ने गरी विकल्पसहित अगाडि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो।
गत माघ १३ गते निर्माणाधीन द्रुतमार्गको स्थलगत निरीक्षणका क्रममा समेत उहाँले विकास निर्माणका काममा स्थानीय सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको थियो। आवश्यक परे प्रस्थानविन्दु परिवर्तन गरेर भए पनि आयोजना छिटो सम्पन्न गर्नुपर्ने उहाँको धारणा थियो।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ तथा प्रधान सेनापति अशोकराज सिग्देललगायत सम्बन्धित मन्त्रालयका सचिव र आयोजनाका अधिकारीहरूको सहभागिता रहेको थियो। नेपाली सेनाले आयोजनाको हालसम्मको प्रगति, देखिएका समस्या र सरकारसँगका अपेक्षाबारे प्रस्तुतीकरण दिएको थियो।
प्रधानमन्त्री कार्कीले विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न र विवाद समाधानका लागि अधिकतम प्रयास गर्न आग्रह गर्नुभयो। “विवाद समाधानको प्रयास गर्ने हो, तर अनिश्चितकालसम्म अल्झिनु हुँदैन। विकल्प खोजेर अघि बढ्नुपर्छ,” उहाँको भनाइ उद्धृत गरिएको छ।
निर्देशनअनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरी खोकनाभन्दा करिब ३.३ किलोमिटर तल फर्सिडोल क्षेत्रमा टोल प्लाजा निर्माण गर्ने प्रस्ताव अघि बढाइने भएको छ। आयोजना जहाँसम्म सम्पन्न हुन्छ, त्यहीँसम्म सञ्चालनमा ल्याउने गरी कार्ययोजना अगाडि बढाइने जनाइएको छ।









प्रतिक्रिया