निर्वाचन प्रचारमा होमिए दल

 

काठमाडौं, ५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान हुन १६ दिन मात्र बाँकी रहँदा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार अभियान तीव्र बनाएका छन्। निर्वाचन आयोग ले सोमबारदेखि फागुन १८ गतेसम्म बृहत् जनसभा आयोजना गर्न अनुमति दिएसँगै देश औपचारिक रूपमा निर्वाचनमय बनेको छ।

यसअघि घरदैलो कार्यक्रम र सानो दायराका सभामार्फत मतदातासँग पुगेका दलहरूले अब ठूला जनसभा आयोजना गरी आफ्ना एजेन्डा प्रस्तुत गर्न थालेका छन्। विघटित प्रतिनिधिसभाका प्रमुख दलहरू—नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी तथा नेपाल मजदुर किसान पार्टी सहित ६८ दल निर्वाचन प्रतिस्पर्धामा छन्।

आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८४ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने स्वतन्त्रतर्फ एक हजार १८७ जनाले उम्मेदवारी दिएका छन्। अधिकांश उम्मेदवार आ–आफ्नो क्षेत्रमा केन्द्रित भई मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय छन्।

घोषणापत्र र जनसभा

केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही तयारीमा छन्। नेपाली कांग्रेस ले फागुन ६ गते जनकपुरधाममा बृहत् सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार अर्थतन्त्र सुधार, परराष्ट्र नीति तथा पाँच वर्षे कार्ययोजना प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरिनेछ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सबै क्षेत्रमा प्रचार तीव्र पारिएको जानकारी दिनुभयो। नेपाली कम्युनिस्ट पार्टी का प्रवक्ता अग्निप्रसाद सापकोटाले देशभर १६४ क्षेत्रमा नेताकार्यकर्ता परिचालन गरिएको बताउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले पनि देशव्यापी रूपमा प्रचार कार्यक्रम सञ्चालन गरिरहेका छन्।

शीर्ष नेता निर्वाचन क्षेत्रमा

प्रमुख दलका शीर्ष नेताहरू आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्। गगनकुमार थापा सर्लाही–४ मा, केपी शर्मा ओली झापा–५ मा, पुष्पकमल दाहाल रुकुम पूर्वमा तथा माधवकुमार नेपाल रौतहटमा प्रचारप्रसारमा सक्रिय हुनुहुन्छ।

त्यसैगरी रवि लामिछाने चितवनमा मत माग्न व्यस्त हुनुहुन्छ भने उपेन्द्र यादव मधेशका जिल्लामा चुनावी अभियानमा केन्द्रित हुनुहुन्छ।

जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक सन्दर्भमा दलहरू जनताको अपेक्षा समेट्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका छन्। मतदान नजिकिँदै जाँदा प्रचार अभियान अझ तीव्र हुने देखिएको छ।

 

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  ०९ : १८  बजे