काठमाडौं, ४ फागुन । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी हालसम्म ६६ वटा उजुरी प्राप्त भएको जनाएको छ। ती उजुरीका आधारमा सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाबाट जवाफ प्राप्त भएको आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारविरुद्ध परेका छन्। दर्ता भएका सञ्चारमाध्यम तथा तिनमा आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण माग्ने तथा आवश्यक कारबाहीका लागि लेखी पठाइएको आयोगले जनाएको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीले प्राप्त ३२ वटा स्पष्टीकरणमाथि अध्ययन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेका छन्।
जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनविरुद्ध उजुरी प्राप्त भई आवश्यक जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले प्राप्त उजुरीमाथि छानबिन तीव्र बनाइएको जनाइएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले उल्लेख गरेको छ। छोटो समयमै जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा अघि बढाइएको आयोगको भनाइ छ।
जिल्लाबाट प्राप्त उजुरीका सम्बन्धमा सम्बन्धित पक्षसँग स्पष्टीकरण सोधी दोषी ठहरिएका व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको पनि आयोगले जनाएको छ।









प्रतिक्रिया