रामेछाप, ४ फागुन । आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा चुनावी सारगर्मी बढेको छ । निर्वाचन आउन १८ दिन मात्र बाँकी रहँदा उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो, कोणसभा तथा प्रचार–प्रसारमा सक्रिय भएका छन् ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन् । १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जस मध्ये ३ स्वतन्त्र छन् । यसैबिच नेकपा एमाले रामेछापले चुनावी प्रचार कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।
एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीका अनुसार पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवप्रसाद ढुंगेल सहितको टोलीको प्रचार अभियानको कार्यक्रम सार्वजनिक गरिएको हो । चुनावी प्रचार अभियानको कार्यक्रम आजबाट लिखु तामाकोशी गाउँपालिकाबाट सुरु भएको छ ।
जस अनुसार आज वडा नं १ देखि ५ सम्म उम्मेदवार ढुंगेलको चुनावी प्रचार–प्रसार, भेटघाट तथा कोणसभा कार्यक्रम सञ्चालन हुनेछन्। फागुन ५ गते मङ्गलवार लिखुतामाकोशी गाउँपालिका वडा नं १, उमाकुण्ड गाउँपालिका वडा नं ६ र ७ मा कार्यक्रम गरिनेछ । त्यसैगरी फागुन ६ गते बुधवार गोकुलगंगा गाउँपालिकाको वडा नं ३ देखि ५ सम्म चुनावी अभियानको कार्यक्रम सञ्चालन हुनेछन् ।
फागुन ७ गते बिहीबार लिखुतामाकोशी गाउँपालिका वडा नं ६ र ७ तथा मन्थली नगरपालिका वडा नं ८ र ९ मा कार्यक्रम तय गरिएको छ भने फागुन ८ गते शुक्रवार मन्थली नगरपालिका वडा नं ९ को बाहुनचुरादेखि वडा नं १०, १२, १३ र १४ सम्म उम्मेदवार ढुंगेलसहित एमालेको टोली पुग्नेछ ।
फागुन ११ गते सोमबार दोरम्बा शैलुङ गाउँपालिका वडा नं २, ३ र ६ मा कार्यक्रम सञ्चालन हुनेछन् । त्यसैगरी फागुन १२ गते मङ्गलवार खाँडादेवी गाउँपालिकाको वडा नं ६, ८ र ९ मा, फागुन १३ गते बुधवार मन्थली नगरपालिका वडा नं २, ३ र ७ मा तथा फागुन १४ गते बिहीबार खाँडादेवी गाउँपालिका वडा नं २, ४, ५ र ७ मा चुनावी कार्यक्रम हुनेछन्।
फागुन १५ गते शुक्रवार रामेछाप नगरपालिका वडा नं ६, ७ र ८ मा कार्यक्रम तय गरिएको छ भने फागुन १६ गते शनिवार रामेछाप नगरपालिका वडा नं ९ साथै मन्थली नगरपालिका वडा नं १ र ६ मा चुनावी भेटघाट तथा प्रचार–प्रसार गरिनेछ ।
कार्य तालिकाअनुसार फागुन १७ गते आइतबार खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीमा पालिका स्तरीय सभा तथा भेटघाट कार्यक्रम आयोजना गरिनेछ भने फागुन १८ गते सोमबार अन्तिम चुनावी सभा हुने छ । बाँकि ३ दिन मौन अवधि हुने छ । यसअघि पहिलो चरणको भेटघाट र मतदासँग अन्तरक्रिया सकेर पार्टीले प्रचार कार्यक्रमलाई अघि बढाएको हो ।









प्रतिक्रिया