काठमाडौं, ३ फागुन। राजधानीको टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरले यतिबेला राजनीतिक तथा सार्वजनिक बहस जन्माएको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेना दिवस र महाशिवरात्रिको अवसरमा देखिएको उक्त प्रस्तुति विवादको विषय बनेपछि नेपाली सेनाले यसलाई नियमित र पारस्परिक सैन्य सम्बन्धअन्तर्गतको अभ्यास मात्र भएको स्पष्ट पारेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेना दिवसका अवसरमा मित्रराष्ट्रका सेनाका ब्यान्ड टिमहरूले मैत्रीपूर्ण सहभागिता जनाउने परम्परा रहँदै आएको छ। “हामी पनि विभिन्न देशका सेना दिवसमा सहभागी हुँदै आएका छौँ। केही समयअघि भारतको सेना दिवसमा नेपाली ब्यान्ड टोली सहभागी भएको थियो,” उहाँले बताउनुभयो।
उहाँले आर्मी–टु–आर्मी सम्बन्धअन्तर्गत संयुक्त अभ्यास, तालिम आदान–प्रदान तथा विशेष कार्यक्रममा सहभागिता नियमित प्रक्रिया भएको स्पष्ट पार्नुभयो। यस विषयमा जंगी अड्डाले विज्ञप्तिमार्फत समेत जानकारी गराएको सेनाको भनाइ छ।
नेपाल र अमेरिकाबीच सन् १९४७ देखि सैन्य सम्बन्ध कायम रहँदै आएको छ। विभिन्न कालखण्डमा नेपाली सेनाका अधिकृतहरू अमेरिकास्थित स्टाफ कलेजहरूमा अध्ययन तथा तालिमका लागि जाने गरेका छन् भने अमेरिकी सैन्य टोलीहरू पनि विशेष कार्यक्रममा नेपाल आउने गरेका छन्।
नेपालले भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानलगायत विभिन्न देशका सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। सेनाका अनुसार यी कार्यक्रम विगतदेखि नै नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
यद्यपि, आम निर्वाचन आउन झण्डै दुई साता बाँकी रहँदा अमेरिकी सेनाको प्रस्तुति राजनीतिक बहसको विषय बनेको छ। केही पक्षले यसलाई विदेशी प्रभावसँग जोडेर टिप्पणी गरेका छन् भने सरकार र सेना निकट स्रोतहरूले यसलाई विगतकै अभ्यासको निरन्तरता भन्दै भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाको कार्यकालमा समेत यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको उल्लेख गर्दै यसलाई चुनावी मुद्दा नबनाउन सरोकारवालाहरूले आग्रह गरेका छन्।









प्रतिक्रिया