काठमाडौं, ३ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले विकासका कार्यक्रमहरूमा विनियोजित बजेट कटौती गरेर विकास विरोधी चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभएको छ।
झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताउनुभयो। उहाँले यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई विकासका लागि बजेट सुनिश्चित गर्ने र भएका बजेट काट्ने शक्तिहरूबीचको प्रतिस्पर्धा भएको उल्लेख गर्नुभयो।
अध्यक्ष ओलीका अनुसार आफू नेतृत्वको सरकारले धिमाल जातिको संग्रहालय निर्माण, होमस्टे प्रवर्द्धन तथा सडक पूर्वाधार विकासका लागि छुट्याएको करोडौँ रुपैयाँ बजेट वर्तमान सरकारले अनधिकृत रूपमा कटौती गरेको छ। उहाँले सत्ता गठबन्धनले योजनाबद्ध रूपमा विकास रोक्ने प्रयास गरिरहेको आरोपसमेत लगाउनुभयो।
धिमाल समुदायलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यसपटकको चुनाव जलाउने कि बनाउने शक्तिहरूबीचको हो। देश बनाउने र बचाउने शक्तिलाई रोज्ने कि देशलाई अस्थिरतातर्फ लैजाने शक्तिलाई समर्थन गर्ने भन्ने विषयमा जनताले निर्णय गर्नुपर्नेछ।”
अध्यक्ष ओलीले धिमाल समुदायलाई ‘धर्तीपुत्र’ तथा ‘प्रथम नागरिक’को संज्ञा दिँदै उनीहरूको पहिचान कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्नुभयो। आफू २०२० सालदेखि नै धिमाल समुदायसँग निकट रहेको स्मरण गर्दै उहाँले विसं २०५१ सालमा गृहमन्त्री हुँदा धिमाल जातीय विकास केन्द्रका नाममा संग्रहालय तथा उद्योग सञ्चालनका लागि १० बिगाहा जमिन भोगाधिकार उपलब्ध गराइएको तथ्य प्रस्तुत गर्नुभयो।
उहाँले धिमाल समुदायका शिक्षित युवाहरू नेतृत्वमा अगाडि बढिरहेकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा राज्यका विभिन्न निकायमा उनीहरूको उपयुक्त प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले विशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभयो। शिक्षा, स्वास्थ्य र मौलिक पहिचानको संरक्षणलाई आफ्नो प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कुनै भ्रममा नपर्न समुदायलाई आग्रह गर्नुभयो।









प्रतिक्रिया