काठमाडौं, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले नेपालमा हुने आगामी निर्वाचनको परिणाम बंगलादेशसँग मिल्दोजुल्दो हुन सक्ने जिकिर गर्नुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका उहाँले आइतबार भद्रपुर विमानस्थल मा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेपालमा पनि बंगलादेशकै जस्तो चुनावी परिणाम आउन सक्ने धारणा व्यक्त गर्नुभएको हो।
उहाँले बंगलादेशमा आन्दोलनबाट उदाएको दलले अपेक्षाकृत कम सिट जितेको र पुराना दलहरू नै बलियो रूपमा स्थापित भएको प्रसंग उल्लेख गर्नुभयो। सञ्चारकर्मीहरूले “नेपालमा पनि त्यस्तै परिणाम आउँछ?” भनी सोध्दा अध्यक्ष ओलीले “हुने नै त्यही हो नि” भनी प्रतिक्रिया दिनुभयो। पुनः सोधिएको प्रश्नमा पनि उहाँले उही अभिव्यक्ति दोहोर्याउनुभएको थियो।
चुनावी अभियानका सिलसिलामा काठमाडौँबाट झापा फर्किनुभएका अध्यक्ष ओली झापा-५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ। केही दिन काठमाडौँमा रहनुभएपछि उहाँ पुनः आफ्नो निर्वाचन क्षेत्रमा फर्किनुभएको हो।
उहाँले अबका दिनमा मतदातासँग भेटघाट गर्ने, गुनासो सुन्ने तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिने तयारी रहेको जानकारी दिनुभयो।
अध्यक्ष ओलीले मुलुकमा चुनाव हुने आशा बढेको पनि उल्लेख गर्नुभयो। “चुनावको वातावरण सरकारले बनाउने हो, हामी यसै भन्न सक्दैनौँ,” उहाँले भन्नुभयो, “तर अब चुनाव हुन्छ भन्ने ठानेका छौँ।”
चुनाव सम्पन्न भएमा आफ्नो पार्टी सहभागी हुने स्पष्ट पार्दै उहाँले “चुनाव हुने भए हामी भाग लिन्छौँ,” भनी धारणा व्यक्त गर्नुभयो।










प्रतिक्रिया