कोराबाटै एमाले उम्मेदवार ढकालको सन्देश : ‘शरीर टाढा भए पनि मन मतदातासँगै छ’

विराटनगर, ३  फागुन । विनोद ढकालले व्यक्तिगत शोकका कारण ‘कोरा’ (अलगाव) मा रहनुपरे पनि आफ्नो मन र प्रतिबद्धता मतदातासँगै रहेको बताउनुभएको छ ।

मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका नेता ढकालले निर्वाचन प्रचारप्रसारकै क्रममा आफ्ना बुवाको निधन भएपछि भिडियो सन्देशमार्फत मतदातालाई सम्बोधन गर्नुभएको हो ।

उहाँले सन्देशमा भन्नुभयो, “म शारीरिक रूपमा यहाँ उपस्थित हुन नसके पनि मेरो मन र भावना सधैँ तपाईँहरूसँगै छ । म मतदाताबीचमै छु । अहिलेको परिस्थितिपछि म प्रत्यक्ष रूपमा तपाईँहरूबीच आएर सुझाव र सल्लाह लिनेछु ।”

उहाँले आफू उपस्थित हुन नसकेको अवस्थामा पनि नेकपा एमालेका कार्यकर्ताहरू घरदैलो अभियानमार्फत मतदातासम्म पुगिरहेको जानकारी दिनुभयो । साथै, क्षेत्र नम्बर ६ का समस्या र आवश्यकताबारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोरङ–६ मा शेखर कोइराला समेत प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएको छ । ढकाल उहाँसँग प्रतिस्पर्धामा रहनुभएको छ ।

नेकपा एमालेभित्र स्पष्ट र मुखर आवाजका रूपमा परिचित ढकाल स्थानीय कार्यकर्ता तथा मतदातामाझ लोकप्रिय नेताका रूपमा चिनिनुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार  ०८ : २४  बजे