आगो र अराजकता मच्चाउने शक्तिलाई जनताले हराउँछन् : प्रचण्ड

काठमाडौं, ३ फागुन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशमा आगजनी र ध्वंस मच्चाउने शक्तिहरू निर्वाचनमा पराजित भएको उदाहरण दिँदै नेपालमा पनि जनताले यस्ता प्रवृत्तिको हिसाब राखेर बसेको बताउनुभएको छ ।

रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले प्रतिनिधिसभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने दाबी गर्नुभयो ।

उहाँले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचन परिणामबारे टिप्पणी गर्दै भन्नुभयो, “सिंहदरबार, संसद् भवन जले, सर्वोच्च अदालत जल्यो, निजी सम्पत्ति र सर्वसाधारणका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्, गणतन्त्र र परिवर्तन चाहनेहरू जित्नेछन्।”

संयोजक प्रचण्डले बङ्गलादेशको निर्वाचनबाट नेपालले पनि पाठ सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “त्यहाँ आगो लगाउनेहरू नै जित्छन् भन्ने हल्ला थियो, तर अन्ततः उनीहरू पराजित भए। स्थिरता र शान्ति चाहनेहरू विजयी भए,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा लाखौँ फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो स्थानमा सीमित भए। यहाँ पनि हल्लाखोरहरूको वास्तविक हैसियत जनताले चुनावमार्फत देखाउनेछन्।”

उहाँले आगजनी, कुशासन, दमन र हिंसाको राजनीतिलाई रोल्पा–रुकुमका जनताले भलीभाँति बुझेको उल्लेख गर्दै देशभरका नागरिकले पनि यस्ता प्रवृत्तिबारे स्पष्ट निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

संयोजक प्रचण्डले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “भरतपुर मोडेल तपाईंहरूले देख्नुभएकै छ। अब रुकुम पूर्वमा विकास र समाजवादको नयाँ मोडेल स्थापना गर्नेछौँ,” उहाँले बताउनुभयो ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार  ०८ : १३  बजे