रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट

रोल्पा, २ फागुन ।  माघ २६ मा रोल्पामा नेपाल प्रहरीले १०४ जना निर्वाचन प्रहरीमाथि कुटपिट गरेको घटना बाहिर आएको छ। केही प्रहरीलाई गम्भीर चोटपटक लागेको र १६ जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्‍याइएको अस्पताल स्रोतले जनाएको छ। सबै उपचारपछि डिस्चार्ज भइसकेका छन्। अस्पतालका अनुसार कुटिएका प्रहरीमध्ये धेरैको ढाड र तीघ्रामा नीलडाम देखिएको छ।

प्रत्यक्षदर्शीका अनुसार घटना बेलुका करिब ६ बजे रोल्पा नगरपालिका– ४ लिबाङको शहीद प्रतिष्ठानको सात तले भवनमा भएको थियो। खाना खाएर फर्कँदै गरेका निर्वाचन प्रहरीलाई नेपाल प्रहरीले ‘हाँस्ने को–को हो ?’ भन्दै लाठी प्रहार गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालयले सुरुमा घटनालाई गुपचुप राख्ने प्रयास गरेको थियो। कुटपिटमा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही हुने आश्वासन दिइए पनि कार्यान्वयन नभएको आशंका भएपछि निर्वाचन प्रहरीहरूले नै घटना बाहिर ल्याएका हुन्।

प्रमुख जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले घटनालाई स्वीकार्दै भन्नुभयो, “खाना खाएर फर्कने क्रममा अपशब्द प्रयोग भएपछि निर्वाचन प्रहरीलाई अनुशासनमा राख्ने उद्देश्यले प्रशिक्षकहरूले अलि कडाइ गरेको हो। एक–दुई लाठी प्रयोग गर्दा केही गुनासो आएको होला। विभागीय कारबाही पनि भइसकेको छ।” प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पनि प्रहरी कर्मचारीलाई अनुशासनमा राख्न सतर्क गराइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो , “निर्वाचन प्रहरी सुरक्षामा खटिने भएकाले अनुशासनमा बस्न जरुरी छ। संस्थाको नियम पालना गर्न सचेत गराइएको हो।” सामाजिक सञ्जालमा भने कतिपयले यस घटनालाई मानव अधिकार उल्लंघनको दृष्टिले अर्थ्याएका छन्। यो घटना रोल्पामा निर्वाचन सुरक्षा र प्रहरी अनुशासनबारे प्रश्न उठाउने किसिमको बनेको छ। यसले सुरक्षा, मानव अधिकार र कार्यपालिकाको पारदर्शिता सम्बन्धी बहसलाई पनि बल दिएको छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार  ११ : ५०  बजे