बालेन्द्रको तीन वर्षे रिपोर्ट कार्ड: काठमाडौं महानगर ६ महानगरबीच कहिल्यै अब्बल बन्न सकेन

काठमाडौं, २ फागुन । मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनतर्फ दृष्टि लगाइरहेको बेला, काठमाडौं महानगरको तीन वर्षे कार्यसम्पादनको रिपोर्ट सार्वजनिक भएको छ।

स्थानीय तह निर्वाचन ०७९ वैशाखपछि काठमाडौं महानगरपालिकामा कार्यकारी प्रमुख बनेका बालेन्द्र साहले अहिलेसम्म तीन आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याएर कार्यान्वयन गरेका छन्। तर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको तथ्यांक अनुसार ६ महानगरबीच काठमाडौंले कहिल्यै अब्बल स्थान पाउन सकेको छैन।

आयोगले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष ०८१र८२ को मूल्यांकनमा १७ वटा सूचक प्रयोग गरिएको थियो। काठमाडौंले ७ वटा सूचकमा शून्य अंक प्राप्त गरेको छ। विशेषगरी, नगरसभामा बजेट पेस नगर्नु, आगामी वर्षको आय–व्यय प्रक्षेपण अर्थ मन्त्रालयमा नबुझाउनु, विनियोजित बजेट अनुसार खर्च गर्न नसक्नु जस्ता विषयमा कमजोरी देखिएको छ।

त्यस्तै, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि काठमाडौं महानगर अपेक्षित सुधार देखाउन सकेको छैन। संस्थागत स्वास्थ्य सेवामा सुत्केरी हुने महिलाको अनुपात कम र सामुदायिक विद्यालयमा विद्यार्थीको शैक्षिक स्तरमा सुधार पहल कमजोर भएको तथ्यांकले पुष्टि गरेको छ।

गत दुई वर्षको मूल्यांकनमा पनि महानगरले शुसासन र लक्ष्य प्राप्तिमा कमजोर प्रदर्शन गरेको देखिन्छ। स्रोत र बजेटको अभाव नभएको अवस्थामा पनि खर्च र कार्यक्रम कार्यान्वयनमा सफल हुन नसक्नु आलोचनाको विषय बनेको छ।

राजनीतिक रूपमा, बालेन्द्र साह आगामी प्रधानमन्त्रीको रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन्। यद्यपि, काठमाडौं महानगरको प्रदर्शनले आगामी निर्वाचनमा मतदाताको दृष्टिमा प्रश्न उठाउने निश्चित छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार  १० : ०१  बजे