काठमाडौं, २ फागुन ।नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा घरदैलो अभियानलाई तीव्र बनाएको छ। शुक्रबारदेखि सुरु गरिएको अभियान अन्तर्गत क्षेत्रका सबै वडाका प्रत्येक टोल र घरमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, सुझाव संकलन र समस्या बुझ्ने कार्य एकै पटक हजारौँ कार्यकर्तामार्फत अघि बढाइएको हो।
क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार मतदातासँग प्रत्यक्ष संवाद स्थापित गरी पार्टीसँग जोड्ने उद्देश्यले व्यापक परिचालन गरिएको हो। उनका अनुसार केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला कमिटी, क्षेत्रीय नेतृत्व तथा टोल समितिसम्मका कार्यकर्ता घरघरमा पुगेर छलफलमा सहभागी भएका छन्।
अभियान अन्तर्गत क्षेत्रका २९ वटै वडाका सबै टोलमा पुगेर मतदातालाई आगामी फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विजयी गराउन आग्रह गरिएको छ।
दमक नगरपालिका–५ स्थित प्रशान्ति टोलमा भेटघाटमा सहभागी अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालले आफ्नो क्षेत्रका प्रत्येक घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद भइरहेको बताइन्। उनका अनुसार मतदाताबाट उत्साहजनक सुझाव र साथको प्रतिबद्धता प्राप्त भएको छ।
दाहालले जनताबाट प्राप्त सुझावका आधारमा पार्टीको भूमिका थप स्पष्ट र प्रभावकारी बनाइने उल्लेख गर्दै विकास र स्थायित्वको सन्देशसहित अभियान अघि बढाइएको बताए। उनका अनुसार प्रशान्ति टोलका करिब ७० घरमा एकै दिन भेटघाट सम्पन्न गरिएको छ।
पार्टीको निर्वाचन रणनीतिअनुसार सबै वडाका टोल कमिटीलाई एउटै योजनामा परिचालन गरिएको जनाइएको छ। साथै सामाजिक सञ्जालमा एआईको प्रयोगमार्फत फैलाइएका भ्रम र नकारात्मक प्रचारको प्रतिवाद गर्ने कार्यमा समेत कार्यकर्ता सक्रिय रहेका दाहालले बताए।
सामाजिक सञ्जालमा प्रयोग हुने अमर्यादित अभिव्यक्तिले समाजमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले सद्भाव, आत्मीयता र सहअस्तित्व जोगाउने जिम्मेवारी पनि अभियानकै भाग भएको स्पष्ट पारे। एमाले सधैँ जनतासँगै रहने प्रतिबद्धता दोहोर्याउँदै उनले भ्रामक प्रचार र नकारात्मक गतिविधिबाट समाजलाई जोगाउन सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्।









प्रतिक्रिया