झापा, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ को एक साता लामो भ्रमण सम्पन्न गरी काठमाडौं फर्कनुभएको छ। माघ २३ गतेदेखि सुरु भएको उहाँको घरदैलो तथा भेटघाट कार्यक्रम फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा केन्द्रित थियो।
भ्रमणका क्रममा उहाँले गौरादह, कमल र गौरीगञ्ज क्षेत्रका करिब ८० टोलका मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। मतदाताहरूले राष्ट्रिय राजनीतिको बहसभन्दा आफ्ना दैनन्दिन समस्या र स्थानीय तहमा अलपत्र परेका विकास आयोजनाबारे ध्यानाकर्षण गराएका थिए।
तटबन्धन, पुल र सडक प्राथमिकतामा
गौरादह र कमल गाउँपालिकाका बासिन्दाले रतुवा खोलाको कटान तथा डुबान समस्या समाधान गर्न स्थायी तटबन्धन निर्माणको माग गर्नुभएको छ। साथै, पक्की पुल निर्माण, स्कुलचौन–दामुना सडक कालोपत्रे र सुविधासम्पन्न अस्पताल स्थापना गर्नुपर्ने विषय पनि प्रमुख रूपमा उठाइएको थियो।
कृषि सडक र रोजगारीको माग
सिङ्गियाडुबाका स्थानीयवासीले ६ बुँदे लिखित मागपत्र पेश गर्दै कृषि सडक निर्माण गरी किसानका उत्पादन सहज रूपमा बजारसम्म पुर्याउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको छ।
दक्षिण झापाका मतदाताले भौतिक पूर्वाधारसँगै जीविकोपार्जनको विषयलाई पनि जोड दिन आग्रह गरेका छन्। गौरादहकी एक स्थानीय बासिन्दाले “ठूला योजना” भन्दा गाउँमै रोजगारी सिर्जना गर्ने वातावरण बनाइदिन अनुरोध गर्नुभयो। वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने विषयमा समेत ध्यानाकर्षण गराइएको थियो।
सुशासन र जनउत्तरदायित्व
दामुना बजार क्षेत्रका मतदाताले जनप्रतिनिधिहरू जनताको समस्या समाधानमा पर्याप्त गम्भीर नदेखिएको गुनासो गर्नुभएको छ। उहाँहरूले सुशासनलाई व्यवहारमै उतार्न र कार्यकर्तालाई जनताको सुख–दुःखमा जोडिन सुझाव दिनुभएको थियो।
गौरीगञ्जको सीमावर्ती देवानगञ्ज क्षेत्रका बासिन्दाले सञ्चार सेवाको अभावबारे गुनासो गर्दै नेपाली मोबाइल नेटवर्क टावर स्थापना गर्न माग गर्नुभएको छ। हाल भारतीय सिमकार्डमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न पहल गरिदिन उहाँहरूले आग्रह गर्नुभएको थियो।
एमाले नेता अमर शिवाकोटीका अनुसार यस पटकको भेटघाटमा मतदाताहरूले आफ्ना प्रतिनिधिसमक्ष खुलेर प्रश्न राख्नुभएको थियो। कतिपयले अघिल्ला घटनाक्रमप्रति असन्तुष्टि र जिज्ञासा समेत व्यक्त गर्नुभएको बताइएको छ।
यस चरणमा गौरादह, कमल र गौरीगञ्ज समेटिएको भए पनि दमक नगरपालिकाका करिब ४० टोलमा भने अध्यक्ष ओलीले फागुन ४ गतेपछि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।









प्रतिक्रिया