नुवाकोट–१ मा डा. महतको पक्षमा युवाहरूको लहरः नेकपाका दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश

नुवाकोट, २८ माघ । नुवाकोट क्षेत्र नम्बर १ मा डा. प्रकाश शरण महतलाई विजयी गराउने संकल्पसहित नेपाली कम्युनिष्ट पार्टीका दर्जनौं युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उद्यम, व्यवसाय तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय नेकपा बागमती प्रदेश सदस्य तथा नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समिति उपाध्यक्ष मनोज तामाङसहितको टोली कांग्रेसमा आबद्ध भएको हो।

उहॅाहरूलाई नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले टिका–माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । स्वागत समारोहमा बोल्दै डा. महतले युवाहरूले देखाएको विश्वास र ऐक्यबद्धताले नुवाकोटको विकास, समृद्धि र सकारात्मक परिवर्तनको साझा यात्रालाई थप ऊर्जा दिएको बताउनुभयो ।

उहॅाले जनताको आशा र भरोसालाई केन्द्रमा राखेर सहकार्य, सम्मान र जिम्मेवारीका साथ समुन्नत नुवाकोट निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “आउनुहोस्, एकताबद्ध भएर उज्ज्वल भविष्यको आधार तयार गरौँ,” उहॅाले आह्वान गर्नुभयो ।

लामो समयदेखि नेकपामा सक्रिय रहँदै आउॅनुभएको नुवाकोटका युवाहरूले विकासमुखी नेतृत्वको आवश्यकता महसुस गर्दै डा. महतलाई जिताएर जिल्लाको मुहार फेर्ने अभियानमा सहभागी भएको बताएका छन्।

युवाहरूको यो प्रवेशसँगै नुवाकोटमा नेकपालाई ठुलो धक्का पुगेको राजनीतिक विश्लेषकहरूको ॲाकलन छ ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार  १० : ४३  बजे