झापा–५ मा ओलीको चुनावी भेटघाट सम्पन्न, एकैदिन १० स्थानमा मतदातासँग संवाद

झापा, २७ माघ ।  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा–५ का उम्मेदवार तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निर्वाचन क्षेत्रको दक्षिणी भेगमा केन्द्रित चुनावी भेटघाट सम्पन्न गर्नुभएको छ । पार्टीका अनुसार अध्यक्ष ओलीले करिब ६ घण्टा मैदानमा रहँदै १० स्थानमा मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको हो ।

नेकपा एमाले झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार आजको कार्यक्रम गौरादह नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा केन्द्रित रहेको थियो । गौरादह नगर चुनाव प्रचार–प्रसार समितिका संयोजक गजेन्द्र घिमिरेका अनुसार बिहान ११ बजे वडा नम्बर ५ को बालुबथानबाट सुरु भएको भेटघाट अपराह्न ४ बजे सोही वडाको खाङ्टामा पुगेर समापन गरिएको थियो ।

निर्वाचन परिचालन समितिका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे बालुबथान, ११:४५ मा चप्रामारी, १२:३० मा कोहबरा, १ बजे तेलियाडाँगीमा मतदातासँग संवाद गर्नुभएको थियो । त्यसैगरी १:३० बजे दामुना, २ बजे सिंगीडुब्बा, २:३० बजे आरतीनगर, ३:३० बजे स्कूलचोक र ४ बजे दत्रुचोक हुँदै खाङ्टामा पुगेर भेटघाट टुंग्याउनुभएको थियो ।

भेटघाटका क्रममा अध्यक्ष ओलीले मतदाताका गुनासा सुन्नुका साथै विकास निर्माणसँग सम्बन्धित समस्याहरू बुझ्नुभएको र आम नागरिकबाट आएका सुझाव तथा असन्तुष्टि दुवैलाई ग्रहण गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पार्टीले जनाएको छ ।

यसअघि अध्यक्ष ओलीले गौरीगञ्ज गाउँपालिकाका विभिन्न स्थानमा आयोजित भेटघाट कार्यक्रममा पनि सहभागिता जनाउनुभएको थियो । पार्टीका अनुसार निर्वाचन क्षेत्रका प्रमुख चौक–चौकमा अध्यक्ष ओलीसँग प्रत्यक्ष भेटघाट हुने गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार  २२ : ३५  बजे