काठमाडौं, २६ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान अवस्थामा देशको बागडोर नेपाली कम्युनिस्ट पार्टीले सम्हाल्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको छ।
नेपाली कम्युनिस्ट पार्टी ओखलढुंगाले आयोजना गरेको निर्वाचन विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालमा होहल्ला गर्दैमा कुनै शक्ति नयाँ र विश्वसनीय नहुने स्पष्ट पार्नुभयो। रास्वपालाई लक्षित टिप्पणी गर्दै उहाँले विचार, इतिहास र आत्मसमीक्षाबिना केवल प्रचारको भरमा राजनीति अघि बढ्न नसक्ने बताउनुभयो।
उहाँले भदौ २३ गते विद्यार्थी हत्या र २४ गते भएको विध्वंसात्मक गतिविधिको स्मरण गराउँदै त्यसप्रति आत्मसमीक्षा नगरी होहल्ला गर्दै हिँड्नु गैरजिम्मेवार व्यवहार भएको उल्लेख गर्नुभयो। “हामी ती शक्तिहरूभन्दा विचारले नै फरक छौँ,” उहाँले भन्नुभयो, “देशको बागडोर सम्हाल्नु आजको ऐतिहासिक आवश्यकता हो, र यही आवश्यकतालाई आत्मसात् गर्दै देशभक्त तथा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरिएको हो।”
आफ्नो उमेरबारे उठाइने प्रश्नप्रति प्रतिक्रिया जनाउँदै संयोजक दाहालले बाहिरबाट उमेरले डाँडो काटेजस्तो देखिए पनि भित्रबाट आफू अझै ऊर्जाशील रहेको स्पष्ट पार्नुभयो। “बाहिरबाट हेर्दा उमेरले डाँडो काटेजस्तो देखिएको हुन सक्छ, तर भित्रबाट बिल्कुलै काटिएको छैन,” उहाँले थप्नुभयो, “अन्तिम समयसम्म राष्ट्रको स्वाधीनता र जनताको हितका लागि समर्पित हुँदै नयाँ आन्दोलनको सृष्टि गर्ने सङ्कल्प मेरो छ।”
कार्यक्रममा एमाले परित्याग गरी नेकपाको तर्फबाट उम्मेदवार बन्नुभएका अम्बिरबाबु गुरुङले एमालेभित्र लोकतान्त्रिक अभ्यास समाप्त भइसकेको दाबी गर्दै विद्रोहको बाटो रोज्नुपरेको बताउनुभयो। उहाँले जनताको माया र समर्थनका आधारमा निर्वाचन जित्ने विश्वास व्यक्त गर्नुभयो।
संयोजक दाहालले गुरुङलाई निर्वाचनमा विजयी गराएमा पार्टीले उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्दै उहाँलाई मन्त्री बनाउने संकेतसमेत गर्नुभएको थियो।









प्रतिक्रिया