झापा, २६ माघ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत पर्ने गौरीगञ्ज गाउँपालिकामा सक्रिय रूपमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ।
एमाले निर्वाचन परिचालन समितिका अनुसार उहाँले गौरीगञ्जका विभिन्न टोल तथा कार्यक्रमहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो कार्यकालमा सम्पन्न योजनाहरू र योगदानहरूको स्मरण गराउनुभएको छ।
उहाँको कार्यक्रम गौरीगञ्ज बहुमुखी क्याम्पसबाट सुरु हुने भएको छ र करिब १ बजे सम्म सञ्चालन रहनेछ। त्यसपछि उहाँले विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग भेटघाट गर्नेजस्ता कार्यहरू गर्नुहुनेछ।
पूर्वप्रधानमन्त्रीको हैसियतले ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तीहरूमा पुगेर स्थानीय नागरिकसँग संवाद गर्नुहुनेछ। यस क्रममा उहाँले हुलाकी राजमार्ग र नयाँ शहरको रूपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन समेत गर्नुहुने कार्यक्रम तय छ।
शनिबार र आइतबार कमल गाउँपालिकाका विभिन्न टोलहरूमा पुगेका समयमा स्थानीयहरूले क्षेत्रको विकासमा उहाँले पुर्याएको योगदानको स्मरण गर्दै पुनः जितेर बाँकी योजनाहरू सफलतापूर्वक पूरा गर्न आग्रह गरेका थिए।









प्रतिक्रिया