मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैनः गृहमन्त्री अर्याल

काठमाडौं, २५ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने बताउनुभएको छ ।आईतवार काठमाडौंमा आयोजित क्लिकमाण्डु सिम्पोजियम कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । गृहमन्त्री अर्यालले कुनै पनि व्यवसाय, उद्योग र लगानीको सुरक्षा गर्ने राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै त्यसलाई पूरा गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।उहाँजे जेन–जी आन्दोलनपछि पनि निजी क्षेत्रले प्रतिकूल परिस्थितिमा पनि हौसलाका साथ काम गरेकाले मुलुकको अर्थतन्त्र पुन गतिशील बन्दै गएको समेत बताउनु भयो ।

गृहमन्त्री अर्यालले निजी क्षेत्रसँग राज्यले विश्वासको पुल निर्माण नगरी मुलुकको आर्थिक अवस्थामा सुधार नआउने पनि स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो,‘व्यवसाय, उद्योग र लगानीको सुरक्षा राज्यको प्राथमिक जिम्मेवारी हो । कुनैपनि नाममा हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैन । म विश्वास दिलाउन चाहन्छु–जेनजी आन्दोलनको अध्ययनको क्रममा उठाइएको निष्कर्षहरु सरकारको लागि आलोचना मात्रै होइन, सुधारको स्पष्ट रोडम्याप पनि हो । राज्य र निजी क्षेत्रबीच विश्वासको पुल पुनर्निर्माण नगरी आर्थिक पुनर्उत्थान सम्भव छैन । आजको दिनमा यो बहस त्यस दिशामा महत्वपूर्ण रहेको छ । प्रतिकुल परिस्थिति बाबजुत निजी क्षेत्रले उच्च हौसला कायम राखेकाले देशको अर्थतन्त्र पुनः गतिशील बन्दै गएको अवस्था छ ।’गृहमन्त्री अर्यालले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले आवश्यक पहलकदमी लिईरहेको दावी समेत गर्नुभयो ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार  २० : ०५  बजे