काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको डेरामा चोरी गर्ने मनिष राजवाहक गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेलबाट भागेको खुलेको छ । उक्त कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कार्यकर्ताले निकालेपछि अरू थुप्रै कैदीबन्दीहरु भागेका थिए ।
४२ वर्षीय राजवाहकलाई प्रहरीले गत २३ माघमा बाँसबारीबाट पक्राउ गरेर आज सार्वजनिक जानकारी दिएको हो । यसअघि बालेन्द्र साहको घरमा चोरी भएको हल्ला चलेको थियो । तर चोरीमा भने डेरामा भएको पाइएको छ । कुन मितिमा चोरी भएको हो भनेर प्रहरीले बताएको छैन । जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीहरू खोज्ने क्रममा राजवाहक पक्राउ परेका हुन् ।
उनी २०७९ पुस १८ मा चोरी मुद्दामा ३ वर्ष ६ महिनाको सजायका लागि जेल चलान भएका थिए । उनी विरुद्ध २०७२ जेठ २४ मा प्रहरी वृत्त कालीमाटीबाट सार्वजनिक अपराध र महाराजगञ्ज वृत्तबाट २०७२ असार ८ मा चोरी मुद्दा चलेको थियो । प्रहरीका अनुसार बालेनको घरमा चोरी गर्ने मुख्य व्यक्ति उनै हुन् । उनले चोरी गरेको कबुल गरेको प्रहरीले जनाएको छ । उनी कामपा २६ मा रहेको होटल क्लासिकमा बस्थे र पेन्टरको काम गर्थे । उनले नख्खु कारागारबाट भागेपछि मात्रै ५ स्थानमा चोरी गरिसकेको प्रहरीको भनाइ छ । राजवाहकले निर्माणाधीन घरबाट धारा, टुटी तथा अन्य घरहरूबाट चाँदीको गिलास, कचौरा, दियो र चाँदीको प्लेट चोरी गर्ने गरेका थिए । राजवाहक बसेको होटल क्लासिक एन्ड लज गेस्ट हाउसको कोठाबाट वर्ल्ड लिंकको १ थान राउटर र दुई थान सीसीटीभी क्यामरा बरामद भएका छन् । यस्तै उनको साथबाट एउटा पिलास, एउटा सलाई रेन्ची, एउटा रेति, एउटा स्क्रु र कालो रंगको ज्याकेट बरामद भएको छ ।









प्रतिक्रिया