काठमाडौं, २५ माघ । ओखलढुङ्गा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ६ बोहोरेमा वृद्ध दम्पतीको बीभत्स हत्या गरी फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले उनीहरूलाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा ओखलढुङ्गाकै साबिक भदौरे गाउँ विकास समिति वडा नं ४ निवासी ३४ वर्षीय धन बहादुर राना मगर र अर्का एक १७ वर्षीय बालक रहेका छन्। उनीहरूलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।प्रहरीका अनुसार गत माघ १२ गते राति अन्दाजी १० बजेको समयमा करिब ७४ वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती ८० वर्षीय चन्द्र माया राईको आफ्नै घरमा हत्या भएको थियो। चन्द्र विक्रम राई घरको दोस्रो तलाको कोठामा र उनकी श्रीमती भुईँ तलामा मृत अवस्थामा फेला परेका थिए।
माघ १३ गते बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा, कोशी प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआबी) को संयुक्त टोलीले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो।अनुसन्धानका क्रममा हत्याको आशंका गरिएका व्यक्ति काठमाडौँमा लुकिछिपी बसेको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले माघ २३ गते काठमाडौँ महानगरपालिका–१५ डल्लुबाट पक्राउ गरेको हो।दुवै जनालाई उनीहरूकै डेराबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरूले लुटपाट गर्ने उद्देश्यले काठमाडौँमै योजना बनाई ओखलढुङ्गा पुगेर सो घटना घटाएको खुलेको छ।उनीहरूले गाउँका अन्य व्यक्तिले पहिचान गर्ने डरले रातको समयमा हत्या गरी सोही रात घटनास्थलबाट फरार भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिनुभयो। उनीहरूको डेराबाट लुटिएका विभिन्न धनमाल समेत बरामद गरेको छ। प्रहरीले मृतक चन्द्रमाया राईले प्रयोग गर्ने सुन जस्तो देखिने पहेँलो धातुको मारवाडी १ जोर, सिक्री १ थान, ४ थान सी माला र १२ हजार रुपैयाँ नगद बरामद गरेको जानकारी दिनुभयो।
यसैगरी एनटिसी र एनसेलका गरी जम्मा १५९ थान रिचार्ज कार्ड, मृतकका २ थान मोबाइल र अभियुक्तहरूले प्रयोग गरेका २ थान मोबाइल समेत फेला परेका छन्। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको एक थान कोदालो समेत बरामद गरेको जनाएको छ।हाल पक्राउ परेका दुवै अभियुक्तहरूलाई ओखलढुङ्गा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र डाँका चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।









प्रतिक्रिया