राजनीतिमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ– अध्यक्ष केपी ओली

काठमाडौं, २४ माघ ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताउनुभएको छ ।

शुक्रबार गृहजिल्ला झापा पुग्नुभएका अध्यक्ष ओलीले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सिक्ने चाहना र राजनीतिक सक्रियताको आकांक्षा राख्ने युवा पुस्तालाई निरुत्साहित गर्नु गलत हुने धारणा ब्यक्त गर्नुभयो । नयाँ पुस्ताले ‘सिक्छु, राजनीतिमा लाग्छु’ भन्नु गलत नभएको स्पष्ट पार्दै उनले राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको बताउनुभयो ।

‘अनुभव र ऊर्जाको संयोजनले मात्रै राजनीतिक संस्कार सुदृढ हुनसक्छ’, उहाले भन्नुभयो । झापा क्षेत्र नम्बर ५ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका अध्यक्ष ओली शुक्रबार हवाईमार्ग हुँदै झापा पुग्नुभएको हो । राजनीतिक प्रतिस्पर्धा स्वागतयोग्य भएको उल्लेख गर्दै उहाँले आफूसँग प्रतिस्पर्धा गर्न कोही अगाडि आउँछ भने त्यसलाई सधैँ खुलेर स्वीकार गर्ने बताउनुभयो ।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार  ०९ : ४५  बजे