खरानीमाथि उभिन सफल एउटा अडिग सपना: कोटेश्वरको भाटभटेनी पुनः सञ्चालनमा

काठमाडौं, २४ माघ । भदौ २३ र २४ गते भाटभटेनीका लागि केवल दुई दिन मात्र थिएनन्, ती दिनहरू पीडादायी इतिहास बने। ‘जेनजी’ आन्दोलनको उग्र प्रभावले कोटेश्वरस्थित भाटभटेनीमा भएको तोडफोड र आगजनीले धेरैलाई अब यो व्यावसायिक संरचना उठ्न लामो समय लाग्ने आँकलन गर्न बाध्य बनाएको थियो।

तर, शनिबार बिहान कोटेश्वर भाटभटेनीका ढोका पुनः ग्राहकका लागि खुल्दा त्यहाँ हिंसाका कुनै दाग रहने छैनन्। ठिक पाँच महिनाअघि खण्डहरजस्तै बनेको संरचनालाई पुनर्जीवन दिन भाटभटेनीका सञ्चालक  मीनबहादुर गुरुङले असाधारण धैर्य, नेतृत्व र प्रतिबद्धता प्रदर्शन गर्नुभएको छ।

स्टोर सञ्चालनमा ल्याउनुअघि कोटेश्वरस्थित भाटभटेनी परिसरमा विधिपूर्वक पूजा सम्पन्न गरिएको थियो। सो अवसरमा  गुरुङ स्वयं सहभागी भई पूजा सामग्रीसहित स्टोर परिक्रमा गर्नुभएको थियो। यो कार्यले पुनर्निर्माणको अन्त्य मात्र होइन, नयाँ सुरुवातको सन्देश दिएको छ।

६० दिनको निरन्तर मैदान उपस्थिती

मंसिर २४ गतेदेखि कोटेश्वर स्टोरको पुनर्निर्माण कार्य सुरु भएको थियो। त्यसपछिका करिब दुई महिनासम्म  गुरुङका लागि कार्यालयभन्दा निर्माणस्थल नै मुख्य कार्यथलो बन्यो। उहाँ प्रत्येक बिहान ७ बजे निर्माणस्थल पुगेर राति ९ बजेसम्म त्यहीँ सक्रिय रहनुहुन्थ्यो।

करिब ६ सय श्रमिकबीच रहेर  गुरुङले केवल निर्देशन मात्र दिनुभएन, उहाँ श्रमिकहरूसँगै बसेर खाजा खानुहुन्थ्यो, समस्या सुन्नुहुन्थ्यो र निरन्तर हौसला प्रदान गर्नुहुन्थ्यो। डढेर कमजोर बनेका भवनका संरचनालाई ‘रेट्रोफिटिङ’ प्रविधिबाट थप मजबुत बनाइएको छ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत  पानुदत्त पौडेलका अनुसार, ‘अध्यक्ष स्वयं फिल्डमा खटिनु भएपछि श्रमिकहरूको मनोबल उल्लेखनीय रूपमा बढ्यो। उहाँले मालिकको हैसियत होइन, सहकर्मीको रूपमा नेतृत्व गर्नुभयो। त्यही दृढताका कारण पाँच तले संरचना ६० दिनमै पुनः उभिन सफल भयो।’

ठूलो क्षति, अझ ठूलो संकल्प

उपत्यकाभित्र र बाहिर गरी भाटभटेनीका १४ भन्दा बढी स्टोर तोडफोड र आगजनीको सिकार बने। व्यवस्थापनका अनुसार यसबाट करिब १० अर्ब ८५ करोड ६८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो। निजी क्षेत्रका लागि यो गम्भीर आर्थिक धक्का भए पनि  गुरुङले निराशा रोज्नुभएन।

उहाँले क्षतिको तथ्याङ्कमा सीमित नबसी पुनर्निर्माणको स्पष्ट गुरुयोजना अघि सार्नुभयो। मंसिर १८ गते बालुवाटारस्थित वेयरहाउस सञ्चालनमा आउनु र अहिले कोटेश्वर स्टोर तयार हुनु त्यसैको परिणाम हो।

सानो सुरुवात, ठूलो दृष्टि

खोटाङको सामान्य परिवारमा जन्मिनुभएका  मीनबहादुर गुरुङले बैंकको जागिर त्यागेर व्यवसायमा प्रवेश गर्नुभएको थियो। उहाँले २०४१ सालमा महाराजगञ्जमा १२० वर्ग फिटको सानो सटरबाट भाटभटेनीको यात्रा सुरु गर्नुभएको हो। कठिन परिस्थितिमा पनि सेवाप्रति प्रतिबद्ध रहनु उहाँको पहिचान बनेको छ।

हाल देशभर करिब २ हजार श्रमिक भाटभटेनीका ध्वस्त संरचना पुनःनिर्माणमा संलग्न छन्। व्यवस्थापनका अनुसार अब महाराजगञ्ज स्टोर पुनः सञ्चालनको तयारीमा छ, जुन आगामी दुईदेखि तीन हप्ताभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ।
‘असार मसान्तभित्र बाँकी ९ वटा स्टोर पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ,’  पौडेलले जानकारी दिनुभयो।

भदौ महिनाको खरानीबाट उठेर माघ अन्त्यमा सञ्चालनमा आउन लागेको कोटेश्वर भाटभटेनी एउटा व्यापारिक संरचना मात्र होइन— यो नेपाली उद्यमशीलताको धैर्य, अनुशासन र पुनरुत्थान क्षमताको जीवन्त उदाहरण हो।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार  ०९ : ३१  बजे