रौतहट, २३ माघ । रौतहट क्षेत्र नम्बर–२ अन्तर्गत भएको चार वर्षीया बालिकाको मृत्यु घटनामा संलग्न सवारी चालकविरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरको कार चालक परोहा नगरपालिका–३ निवासी २७ वर्षीय शेख मुस्ताखलाई अदालतले पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले अदालतबाट पाँच दिनको म्याद थप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार बिहीबार दिउँसो करिब २ बजे इशनाथ नगरपालिका–३ मठिया टोलमा कारको ठक्करबाट चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर–२ का उम्मेदवार शेख सगिरको नाममा दर्ता रहेको पाइएको छ। सो कार चुनावी प्रचार–प्रसारका क्रममा प्रयोग भइरहेको अवस्थामा दुर्घटना भएको जनाइएको छ।
घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् भने प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ।









प्रतिक्रिया