राजविराज, २२ माघ । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरीसहित ९ जनामाथि भ्रष्टाचारको आरोप लागेको छ।
विद्यालय भवन निर्माण कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई बयानका लागि बोलाएको हो।
आयोगले मंगलबार डाक्नेश्वरी नगरपालिकालाई पत्राचार गर्दै सम्बन्धित व्यक्तिहरूलाई उपस्थित गराइदिन आग्रह गरेको छ। पत्रअनुसार नगरपालिका–५ स्थित श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माणसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको जनाउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीसहितलाई शुक्रबार बिहान १० बजे आयोगको अनुसन्धान शाखा नं. ४(ख) मा उपस्थित हुन भनिएको छ।
चौधरी विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको समयमा भवन निर्माणमा अनियमितता भएको आरोप लगाइएको छ।
अमरकान्त चौधरी पूर्वसांसद चन्द्रकान्त चौधरीका छोरा हुन्। उनी यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा सक्रिय थिए भने पछिल्लो समय रास्वपामा प्रवेश गरी सोही पार्टीबाट उम्मेदवारी दिएका हुन्।
बयानका लागि बोलाइएका अन्य व्यक्तिहरूमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू रामसागर मण्डल, सतेन्द्रकुमार मण्डल, रुञ्चीदेवी सदा, कविता सिंह, श्यामलादेवी मण्डल, दुखरण मण्डल, सुभाषकुमार साह र योगेन्द्रप्रसाद मेहता रहेका छन्। आयोगले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ भने आरोपबारे सम्बन्धित पक्षको भनाइ आउन बाँकी रहेको छ।









प्रतिक्रिया