पार्टीले ‘खल्तीबाट टिकट दिएको’ भन्दै बालेन निकट कुँवरले दिए राजीनामा

काठमाडौं, २२ माघ । पार्टीले ‘खल्तीबाट टिकट वितरण गरेको’ आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्देही क्षेत्र नम्बर–१ का उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टीबाट राजीनामा दिनुभएको छ।

रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह निकट मानिने डा. कुँवरले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गर्नुभएको हो। उहाँले पार्टीभित्र कुनै स्पष्ट प्रणाली नरहेको, आर्थिक चलखेल भएको तथा अपारदर्शी ढंगले निर्णय लिइएको आरोप लगाउनुभएको छ।

डा. कुँवरले पार्टीले सार्वजनिक रूपमा प्रतिबद्धता जनाएको ‘प्राइमरी इलेक्सन’ प्रक्रिया नअपनाई मनोमानी रूपमा उम्मेदवार चयन गरेपछि त्यसखालको पार्टीमा बसिरहनु उपयुक्त नलागेको प्रतिक्रिया दिनुभएको छ। आर्थिक लेनदेनका कारण पार्टीप्रति शंका उत्पन्न भएकाले आफूले पार्टी परित्याग गरेको उहाँको भनाइ छ।

रुपन्देही–१ बाट आफू सहित छ जना उम्मेदवार सिफारिस भएको उल्लेख गर्दै उहाँले प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको बताउनुभएको छ। लम्साल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह कार्यरत रहँदा सल्लाहकारको भूमिकामा रहनुभएको थियो भने हाल पार्टीका महामन्त्रीसमेत हुनुहुन्छ।

डा. कुँवरले प्राइमरी इलेक्सनका नाममा उम्मेदवार आकांक्षीबाट रकम असुल्ने तर वास्तविक प्राइमरी इलेक्सन नगर्नु भ्रष्टाचारको नयाँ शैली भएको आरोप लगाउनुभएको छ। साथै, विदेशमा रहेका धेरै नेपालीको भावना दुरुपयोग गरिएको तथा विदेशमा बसोबास गर्दै आएका नेपालीलाई धोका दिने गलत अभ्यास पार्टीले अंगीकार गरेको उहाँको दाबी छ।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार  १८ : १९  बजे