काठमाडौं, २२ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताउनुभएको छ । आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा उहाँले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँ बस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताउनुभएको हो ।
प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थामा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको गृहमन्त्री अर्यालको भनाइ छ । हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभूत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उहाँले बताउनुभयो ।
नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको भन्दै उहाँले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकास र स्थायित्वको आधारस्तम्भ भएको उहाँको भनाइ छ । गृहमन्त्री अर्यालले आगामी दिनमा पनि ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अत्याधुनिक सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
प्रतिस्पर्धी बजारमा नेपाल टेलिकमले आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनलाई सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । कम्पनीको बृहत् सञ्जाल, पूर्वाधार, दक्ष मानव संसाधन र बजार सम्भावनाको कुशल व्यवस्थापनमार्फत प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल टेलिकम एक केवल दूरसञ्चार कम्पनी मात्रै होइन, यो राज्यको डिजिटल मेरुदण्ड हो। दुर्गम हिमालदेखि तराईका गाउँ बस्तीसम्म सञ्चारको पहुँच पुर्याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ । प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालीन अवस्थामा नेपाल टेलिकमले खेलेको भुमिका स्मरणीय र प्रशंसनीय रहेको छ ।’
उहाँका अनुसार टेलिकमले सेवा विस्तारसँगै डिजिटल साक्षरता प्रवर्धन, विद्युतीय सरकारको अवधारणा कार्यान्वयन तथा ज्ञानमा आधारित समाज निर्माणमार्फत राष्ट्र निर्माणमा योगदान दिँदै आएको छ । सार्वजनिक सेवा सरकार र नागरिकलाई जोड्ने सेतु भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले नागरिक र सरकार सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।









प्रतिक्रिया